एकै वडाका २७ जना सम्पर्कविहीन

धनगढी । रसुवाको त्रिशुली नदीमा आएको बाढीपछि कैलालीको टीकापुर नगरपालिका–१ का मात्रै २७ जना अझै सम्पर्कविहीन छन् । बाढी आएको ११ दिन बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ । सम्पर्कविहीनमध्ये अधिकांश रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत मजदुर हुन् ।

टीकापुर–१ समितिपुरकी तुलसी चौधरीका ४१ वर्षीय श्रीमान् अन्तराम चौधरी पनि सम्पर्कविहीन छन् । बाढी आउनुअघि राति फोनमा कुराकानी गरेका अन्तरामले दसैँमा घर फर्किने बताएका थिए । त्यसको भोलिपल्ट बाढी आएपछि भने उनको कुनै खबर आएको छैन ।

सोही गाउँका २६ वर्षीय दीपक चौधरी र ३५ वर्षीय मानबहादुर चौधरीको अवस्था पनि अज्ञात छ । आफन्तका अनुसार बाढी आउँदा उनीहरू जलविद्युत् आयोजनाको सुरुङभित्र काम गरिरहेका थिए ।

टीकापुर–१ वडा कार्यालयका अनुसार सम्पर्कविहीन २७ जनामध्ये समितिपुरका मात्रै आठ जना छन् । भूमिहीन तथा सुकुम्बासी बस्तीका थप छ जना सम्पर्कविहीन छन् । ‘२७ जना बेपत्ता हुँदा वडा नै शोकमा छ । परिवारहरू पीडामा छन्,’ वडाध्यक्ष मोहन विकले भने, ‘यतिका दिनसम्म उद्धार हुन नसक्दा परिवारको आशा पनि मर्दै गएको छ ।’

बेपत्ता आफन्तको अवस्था बुझ्न टीकापुर–१ का परिवारले आफैं रकम जुटाएर छ जनालाई घटनास्थल पठाएका छन् । सरकारले बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै पीडित परिवारले इलाका प्रशासन कार्यालय टीकापुरमा नाराबाजीसहित घेराउसमेत गरेका छन् । उनीहरूले सरकारले बेपत्ताको ‘सास वा लास’ उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

बाढीमा परी सुदूरपश्चिमका २०९ जना बेपत्ता भएको विवरण प्रदेश प्रहरीले संकलन गरेको थियो । तीमध्ये ५९ जना सम्पर्कमा आइसकेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार सम्पर्कमा आएकामध्ये कैलालीका ४६, कञ्चनपुरका १०, बाजुराका दुई र डडेल्धुराका एक जना छन् ।

प्रहरीका अनुसार अझै सुदूरपश्चिमका विभिन्न जिल्लाका १५० जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ ।

लामो समयसम्म सम्पर्कमा नआएका व्यक्तिको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए नमूना संकलनसमेत सुरु गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता विष्टका अनुसार हालसम्म १४ जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ । कञ्चनपुर र कैलालीका ६–६ तथा डडेल्धुराका दुई जनाको नमूना संकलन गरिएको उनले बताए ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा ढिलाइ भइरहेका बेला आफन्तबाट डीएनए नमूना संकलन थालिएपछि परिवारहरू झन् चिन्तित बनेका छन् । एकातिर आफन्त जीवितै भेटिने आशा र अर्कोतर्फ शव भेटिए पहिचान गर्नुपर्ने बाध्यताबीच उनीहरू लामो प्रतीक्षामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे