सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने क्रम बढ्दो, निर्मम बन्दै प्रहरी

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पु¥याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे ।

बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले आक्रमक रुपमा कारबाही थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याइ थप पीडा दिनेको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताउँछन् ।

‘बाढीका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दुःखद् घडीमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिले हृदयविदारक, विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा थप पीडा हुनेगरी त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएको छ,’ उनले भने ।

प्रहरीको पछिल्लो तथ्यांकअनुसार फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी कुल १७३ वटा गलत सूचना र अफवाहसहितका समाचार सामग्री प्रसारण भएको देखिन्छ । त्यसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ र टिकटकबाट चार वटा त्यस्ता सामग्री सामाजिक सञ्जालबाट हटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

यसखालका गतिविधिको अनुगमन गरी ती सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

समितिले सामाजिक सहिष्णुतामा आघात पु¥याउने कार्यमा संलग्नउपर अनुसन्धान एवं पहिचान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी आवश्यक कारबाही गर्नेछ ।

डीएसपी आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समितिले काम गरिरहेको जानकारी दिए । ‘सामाजिक सञ्जालमार्फत अञ्जानमा पोष्ट गरेका वा सेयर गरेका समाचारको गाम्भीर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ,’ उनले भने ।

विपद्का नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनका नाममा हुनसक्ने ठगीलाई पनि नियन्त्रण गर्नसमेत प्रहरी सक्रिय रहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले बताउँछन् ।

‘सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पु¥याउनेलाई कानुनी दायरामा ल्याउन प्रहरी सदैव कटिबद्ध छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने क्रम बढ्दो, निर्मम बन्दै प्रहरी