काठमाडौं । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको हो ।
प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । पटका तथा आतिशबाजीबाट हुनसक्ने आगलागी र दुर्घटना रोक्न दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको प्रहरीले बताएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात र मुख्य बजारमा विशेष चेकजाँच तथा अनुगमन टोली परिचालन गरिएको जानकारी दिए । उनले पटका लगायतका विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए । जुवातास, सट्टेबाजी तथा अन्य आपराधिक गतिविधि हुन सक्ने क्षेत्रमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
प्रहरीले तिहारमा पटका नपड्काउन, बालबालिकालाई विस्फोटक पदार्थबाट टाढा राख्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न तथा सुरक्षित र सभ्य रूपमा पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । आगलागी वा दुर्घटना भए तत्काल प्रहरी कार्यालय वा दमकलमा खबर गर्न तथा अवैध पटका कारोबार’bout प्रहरीको हटलाइन १०० मा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
यसैगरी, चाडपर्वका बेला हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न वाणिज्य विभाग, स्थानीय तह तथा जिल्ला प्रशासनसँगको समन्वयमा बजार अनुगमन तीव्र बनाइएको छ । यस्तै, काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको लाइसेन्स, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालकको व्यवस्था र सवारीको यान्त्रिक अवस्था पनि जाँच गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न सूचना प्रविधि, प्रभावकारी प्रहरी परिचालन र नागरिक सहकार्यलाई प्राथमिकतामा राख्दै चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन सबैमा आग्रह गरेको छ ।
सम्बन्धित समाचार
सशस्त्र प्रहरीद्वारा १२० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ
दसैँमा यात्रुको सहारा बन्यो प्रहरीको निःशुल्क बस सेवा
निजामति कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने
साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
नेपाल–भारत १०औँ समन्वय बैठक : सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता
बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चलेको गगन थापाको आरोप
फेरि विवादमा तानिए सशस्त्रका डीआईजी श्रेष्ठ
विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताववारे कांग्रेस ‘पर्ख र हेर’ मा





