भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्स्थापनाका लागि यहाँका स्थानीय तहले रु। एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् ।

रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाउँपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण ठुलो जनधनको क्षति भएपछि स्थानीय तह, संघसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनस्स्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले आर्थिक सहायता दिने निर्णय गरेका हुन् । रैनादेवी छहरा गाउँपालिकाले रु। ३५ लाख ४४ हजार ३४५ राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु. दुई लाख ५० हजार, जनप्रतिनिधिबाट रु दुई लाख पाँच हजार ९५०, कर्मचारीबाट रु। छ लाख ४८ हजार ८१, शिक्षकबाट रु। २४ लाख २५ हजार ३१४ र तीज गीत कार्यक्रमलाई छुट्याएको १५ हजार बजेट कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।

विपद्का बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उनले बताए । माथागढी गाउँपालिकाले रु. ३४ लाख ४६ हजार, रिब्दीकोट गाउँपालिकाले रु. ३१ लाख ५० हजार पूर्वखोला गाउँपालिकाले रु। २९ लाख ७५ हजार ९७२, बगनासकाली गाउँपालिकाले रु। दुई लाख ५० हजार, रामपुर नगरपालिकाले रु। दुई लाख ५० हजार, रम्भा गाउँपालिकाले रु दुई लाख ५० हजार र निस्दी निस्दी गाउँपालिकाले रु। एक लाख कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा भदौ १३ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले समेत बाढीपीडितका लागि राहत सामग्री संकलन तथा पठाउने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एक द्वार प्रणाली अपनाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

हराउँदै सुकुल भोज