पाल्पा । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन् । सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए । कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए ।
‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले रकम सङ्कलन गरेका अर्यालले बताए । “उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ”, उनले भने । कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन् ।
सम्बन्धित समाचार
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण





