ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं । पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् ।

राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गरेका थिए । २००४ सालदेखि २०१९ सम्म उनले यहाँ साधना हुन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार यहाँ बालक ध्रुवले तपस्या गरेका थिए ।

ध्रुव बाल्यकालमै आएर यहाँ तपस्या गरेकाले यस स्थलको नाम ध्रुवस्थली रहेको शिवपुरी बाबा आश्रमको संरक्षण गर्दै आएका विष्णुप्रसाद तिमल्सिनाले जानकारी दिए । बालक ध्रुवले तपस्या गरेका बेला भगवान् विष्णु प्रसन्न भई माता लक्ष्मीलाई स्तनपान गर्न यहाँ पठाएको प्रसंग पनि आफूले बुबाबाट किम्बदन्तीका रूपमा सुनेको पनि उनले सुनाए ।

२०१९ सालमा यही स्थानमा शिवपुरी बाबाले समाधि लिए । उनको समाधिस्थलमा अहिले पनि दैनिक सयौँ जना ध्याना साधनाका लागि आउने गरेका छन् । शिवपुरीबाबाको ध्याना साधनास्थलमा करिब ६० जनाले ध्यान साधना गर्नसक्ने गरी संरचना निर्माण गरिएको छ । यहाँ चकटीसमेत राखेर ध्यान साधना गर्ने वातावरण बनाइएको छ । यो स्थलमा जुनसुकै साधना विधि अपनाएका ध्यानी पनि आएर ध्यान गर्नसक्ने तिमल्सिनाले बताए ।

विशेष पर्व परेका बेला भने हजारौँको संख्यामा साधक यहाँ आउने गर्छन् । प्रत्येक वर्षको चान्द्रमासअनुसारको भाद्र मासको मूल नक्षत्रका दिनमा शिवपुरी बाबाको जन्मजयन्ती र माघ शुक्ल तृतीयाका दिन उनको समाधि दिवसका अवसरमा भने हजारौँ भक्तजन जम्मा भएर सामूहिक ध्यान गर्दै मनाउने परम्परा रहेको छ । त्यसैअनुसार आज शिवपुरी बाबाको २००औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।

यस अवसरमा विभिन्न सन्तबाट प्रवचनका साथमा साधुसन्त र ध्यान साधनामा आउनेलाई भण्डारा गराइएको थियो । उनको जन्म सन् १८२६ अर्थात् १८८२ चान्द्रमासअनुसार भदौ महिनाको मूल नक्षत्रका दिनमा भएको हो ।

(रासस)

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली