भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा

धनगढी । आगामी शुक्रबारदेखि तीन दिनसम्म भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएपछि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यका लागि सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना छ । सम्भावित वर्षाका कारण उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा ‘अलर्ट’ जारी गरिएको उनले बताए ।

‘चुरे क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन भनिएको छ,’ शाहले भने ।

सुरक्षा निकाय तयारी अवस्थामा
भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनसँगै सुदूरपश्चिमका सुरक्षा निकायले विपद् प्रतिकार्यको तयारी तीव्र पारेका छन् ।

सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी, अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मौसमसम्बन्धी सूचनाका आधारमा आवश्यक जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको बताए ।

नेपाली सेनाले पनि सम्भावित विपद्का घटनामा उद्धार तथा राहतका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ । प्रभावितको उद्धार तथा राहतका लागि सुदूरपश्चिम पृतनामा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

धनगढीमा नगर प्रहरीको माइकिङ
भारी वर्षाको सम्भावनापछि धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सतर्क रहन आग्रह गर्दै टोलटोलमा माइकिङ सुरु गरेको छ ।

वर्षाका कारण धनगढी क्षेत्रका नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने तथा नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुन सक्ने उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

‘नदी तथा खोलानाला आसपास र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ,’ उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले नगर प्रहरीलाई टोलटोलमा परिचालन गरी बाढी, डुबानलगायतका सम्भावित जोखिमबाट सुरक्षित रहन सचेत गराइरहेको छ ।

जोखिमयुक्त क्षेत्रमा नजान, नदी तथा खोलाको किनारमा नबस्न र मौसमसम्बन्धी सूचना निरन्तर लिन उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा