सोल्माले जित्यो ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’

पुरस्कार राशी, ट्रफी, मेडल र प्रमाणपत्रसहित उपाधि विजेता सोल्माका खेलाडीहरु ।

खोटाङ । शिखर स्पोर्टस क्लब खार्मीले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ । खार्मीस्थित क्लबकै खेलमैदानमा शनिबार भएको फाइनलमा सोल्माले आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा दुवैतर्फ गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । विजेता सोल्माले एक लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको क्लबका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । उपविजेता खार्मीले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलिस्ट केपिलासगढी–४ बाक्सिला र दिप्रुङ चुइचुम्मा–७ टेम्माले २१ हजार १११ नगद, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा सोल्माका हेखाम राई उदीयमान खेलाडी, नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, विकास राई उत्कृष्ट मिडफिल्डर, प्रकाश राई उत्कृष्ट प्रशिक्षक र आशिष राई उत्कृष्ट खेलाडी चयन भएका छन् । खार्मीका सविन दाहाल उत्कृष्ट डिफेण्डर र बाक्सिलाका संगम राई सर्वाधिक गोलकर्ता बनेका छन् ।

उत्कृष्ट खेलाडीलाई पाँच हजार ५५५ र अन्यलाई तीन हजार ३३३ रुपैयाँ प्रदान गरिएको अध्यक्ष राईले बताए । समापनका अवसरमा जिल्लामा क्रियाशील पत्रकार आत्मा राई ‘मिनाक्क्षी’लाई पाँच हजार ५५५ नगदसहितको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेको प्रतियोगिताका विजेता वडा र खेलाडीलाई नगर उपप्रमुख विशन राईले पुरस्कार वितरण गरेका थिए ।

मङ्सिर १ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका दश वडाले सहभागिता जनाएका थिए । नगरपालिकाको लगानीमा बनेको मैदानको उपयोग गर्दै दक्ष तथा व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको संयोजक हर्कराज राईले बताए ।

नगरपालिकाको आर्थिक सहयोग र एक्सट्रिम ईनर्जीको प्रायोजनमा भएको प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष विकाश राईले जानकारी दिए । देश–विदेशमा रहेका शुभेच्छुकले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सोल्माले जित्यो ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’