काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। उक्त सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको प्रचण्डले उल्लेख गरेका छन्।
ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गर्दै उनले यो सम्झौता दुई पक्षबीचको समझदारीमा मात्र सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको बताएका छन् ।
प्रचण्डका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र नयाँ संविधान निर्माणजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएका हुन्।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन्।
शान्ति सम्झौताको मर्म द्वन्द्व अन्त्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले पीडितलाई न्याय, सामाजिक मेलमिलाप, दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माण पनि यसको मूल उद्देश्य भएको बताएका छन्।
प्रचण्डले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
सम्बन्धित समाचार
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
एमाले राष्ट्रिय भेला: आन्तरिक एकता कि शक्ति सन्तुलनको अभ्यास ?
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै स्थानीय तह निर्वाचन मिति घोषणा हुने
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ
ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास






