जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन ठप्प

काठमाडौं । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलित छन् । सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता तथा श्रम अदालत भक्तपुरको फैसला कार्यान्वयनको माग गर्दै उनीहरू भदौ २४ गतेदेखि आन्दोलनमा छन् ।

उत्पादन शाखामा कार्यरत अधिकांश कर्मचारी आन्दोलनमा सहभागी भएपछि असोज ५ गतेदेखि कम्पनीको उत्पादन नै ठप्प भएको छ । कर्मचारीले भदौ २४ गतेदेखि कालोपट्टि बाँधेर काम गर्दै आएका थिए । तर, आफूहरूका मागप्रति व्यवस्थापनले बेवास्ता गरेको भन्दै करिब ३० जना कर्मचारी असोज ५ गतेदेखि नियमित धर्नामा छन् ।

कम्पनीमा २३ वर्षदेखि कार्यरत दोलखाकी सुस्मिता गौतमले लामो समय काम गरे पनि आफूहरूले अन्य कर्मचारीसरह सेवासुविधा नपाएको बताइन् । ‘२३ वर्षदेखि काम गर्दा पनि सेवासुविधा पाएका छैनौँ । नआएको दिनको पैसा काटिन्छ । हामीले राखेको मागको सुनुवाइ पनि भएको छैन । केही हुन्छ कि भनेर धर्ना बस्नुपरेको छ,’ उनले भनिन् ।

काममा फर्कन आफूहरूको इच्छा भए पनि माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको गौतमले बताइन् । माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनले बताइन् ।

सेवासुविधाको माग गर्दै गौतमसहित कम्पनीमा कार्यरत २२ कर्मचारीले २०७८ चैत १७ र २०७९ असार ८ गते श्रम तथा रोजगार कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । कार्यालयले २०८० जेठ ४ गते कर्मचारीको पक्षमा निर्णय गरेको थियो ।

त्यसपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उक्त निर्णयविरुद्ध श्रम अदालत भक्तपुरमा पुनरावेदन गरेको थियो । श्रम अदालतले पनि मासिक न्यूनतम पारिश्रमिक, सञ्चयकोष, उपदान, बिरामी बिदालगायतका सेवासुविधा कर्मचारीले पाउनुपर्ने भन्दै २०८१ जेठमा कर्मचारीकै पक्षमा फैसला गरेको थियो ।

तर, अदालतको फैसला कार्यान्वयन नभएको र आफ्ना मागसमेत सम्बोधन नभएको भन्दै कर्मचारी चाडपर्वको मुखमा आन्दोलनमा उत्रिएका हुन् । उनीहरू बिहान १० बजे हाजिर गरेर कार्यालय समयभर धर्नामा बस्ने गरेका छन् ।

आन्दोलनरत कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयलाई समेत यस’bout जानकारी गराएका छन् ।

माग सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले कम्पनीका महाप्रबन्धकलाई गत भदौ १८ गते पत्रसमेत दिएका थिए । माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिए पनि व्यवस्थापनबाट सुनुवाइ नभएपछि धर्ना सुरु गर्नुपरेको कर्मचारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

गायिका मेलिना राईलाई पितृशोक