अवकाशप्राप्त ज्येष्ठ प्रहरी शाहीलाई घरमै पुगेर सम्मान

सङ्खुवासभा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले सङ्खुवासभाका अवकाशप्राप्त ज्येष्ठ प्रहरी कर्मचारी टीकाराम शाहीलाई सम्मान गरेका छन्।

चैनपुर नगरपालिका–६ का ८६ वर्षीय पूर्वप्रहरी नायब निरीक्षक (सई) शाहीलाई डीआईजी खनालले घरमै पुगेर दोसल्ला ओढाएर सम्मान गरेका हुन्। नेपाल प्रहरीमा लामो समय सेवा गरेका शाहीलाई पहिलोपटक कोशी प्रदेश प्रहरी कार्यालयले घरमै पुगेर सम्मान गरेको हो।

शाही २०२० सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए। करिब ३२ वर्ष प्रहरी सेवामा रहेका उनले २०४९ सालमा प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका थिए। प्रहरी सेवामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ।

घरमै पुगेर ज्येष्ठ तथा अवकाशप्राप्त प्रहरी कर्मचारीलाई सम्मान गर्दा उनीहरूले सेवाका क्रममा पुर्‍याएको योगदानको स्मरण हुने डीआईजी खनालले बताए। उनले प्रहरी संगठनमा विगतमा सेवा गरेका अनुभवी प्रहरी कर्मचारीको योगदानलाई नयाँ पुस्ताले समेत सम्मान र स्मरण गर्नुपर्ने बताए।

सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले अवकाशप्राप्त ज्येष्ठ प्रहरीलाई घरमै पुगेर गरिएको सम्मानले पूर्वप्रहरी कर्मचारीप्रति संगठनको सम्मान र आत्मीयता झल्काएको बताए।

यसैबीच, डीआईजी खनालले चैनपुर नगरपालिका–३ सिद्धपोखरीमा नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा उनले प्रहरी चौकी नागरिकका लागि विश्वासिलो स्थान बन्नुपर्ने बताए। अन्यायमा परेका नागरिकले न्यायको आशा लिएर आउने र विपद्का समयमा सहयोग खोज्ने ठाउँका रूपमा प्रहरी चौकी स्थापित हुनुपर्ने उनको भनाइ थियो।

उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा समाजका कमजोर र जोखिममा रहेका वर्गले प्रहरी चौकीमा आफूलाई सुरक्षित महसुस गर्ने वातावरण बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए।

प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नुका साथै नागरिकका समस्या सुन्ने, पीडितलाई आवश्यक सहयोग गर्ने र कानुनी प्रक्रियामा सहजीकरण गर्नु रहेको उनले बताए।

नवनिर्मित प्रहरी चौकी भवनबाट सिद्धपोखरी क्षेत्रमा प्रहरी सेवा प्रवाह तथा शान्ति सुरक्षा व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। नयाँ भवनबाट स्थानीय नागरिकले थप प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री प्रहरी सेवा पाउने बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी, वरिष्ठ र महिला उपाध्यक्ष निर्विरोध