धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बेरोजगार युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले तीन विधामा निःशुल्क आवासीय सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

नेपाल युथ फाउन्डेसनको सहकार्यमा धनगढी भोकेसनल स्कुलमा सञ्चालन हुने तालिममा सहायक प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन र सहायक वेल्डर विषय समावेश छन् । प्रत्येक विधामा २५ जनाका दरले ७५ जनालाई तालिम प्रदान गरिनेछ ।

धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले प्रकाशित गरेको सूचनाअनुसार सहायक प्लम्बर र बिल्डिङ इलेक्ट्रिसियनको तालिम ३९० घण्टाको हुनेछ । सहायक वेल्डरको तालिम पनि ३९० घण्टाकै हुनेछ ।

तालिमको अवधि तीन महिना र त्यसपछि दुई महिना ओजेटी (काम गर्दै सिक्ने अभ्यास) गरी जम्मा पाँच महिना रहनेछ । तालिम आगामी मंसिर ६ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ ।

तालिममा सहभागी हुन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । बेरोजगार तथा तालिमपछि सोही क्षेत्रमा काम गर्न इच्छुक युवाले आवेदन दिन सक्नेछन् । इच्छुक युवाले फोन सम्पर्कमार्फत पनि अन्तर्वार्ता दिन सक्ने व्यवस्था गरिएको छ ।

तालिममा सहभागी हुन इच्छुकले आगामी कात्तिक ३० गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

तालिमसम्बन्धी थप जानकारी तथा आवेदनका लागि धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र वा धनगढी भोकेसनल स्कुल, वडा नम्बर १८, फूलबारी, कैलालीमा सम्पर्क गर्न सकिनेछ ।

तालिममार्फत युवालाई प्राविधिक सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरमा जोड्ने लक्ष्य राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित