काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । मौसमविद्हरूका अनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म उक्त प्रणालीको प्रभाव पर्न सक्ने प्रारम्भिक पूर्वानुमान छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा हुन सक्ने सम्भावना छ ।
उनका अनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान छ । पछिल्लो पूर्वानुमानअनुसार वर्षाको तीव्रता केही कम हुने देखिए पनि प्रणालीको गति, दिशा र नेपाल नजिक आइपुग्दाको अवस्थाले वर्षाको मात्रा तथा प्रभाव निर्धारण गर्नेछ ।
‘अहिले बिहीबारदेखि शनिबारसम्म वर्षा गराउने सम्भावना देखिएको प्रणाली बङ्गालको खाडी र अरब सागरमा विकसित चक्रवातको अवशेष हो । यो प्रणाली नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्रका रूपमा रहन सक्छ, तर त्यतिबेलासम्म अझ कमजोर भइसकेको हुन सक्छ,’ पोखरेलले भनिन् ।
उनका अनुसार प्रणालीले ल्याउने जलवाष्प र माथिल्लो वायुमण्डलको अवस्थाको संयुक्त प्रभावले वर्षा गराउन सक्छ । प्रणाली कमजोर भएमा वर्षाको प्रभाव कम हुने र अपेक्षाकृत शक्तिशाली रहेमा प्रभाव बढ्न सक्ने भएकाले यसको निरन्तर अनुगमन आवश्यक छ ।
वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने मौसमविद् पोखरेलले बताइन् । विशेषगरी हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सावधानी अपनाउन उनले आग्रह गरिन् ।
‘उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकले सुरक्षित स्थानमा बस्नुपर्छ र माथिल्लो क्षेत्रबाट सुरक्षित स्थानतर्फ झर्नु उचित हुन्छ । हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्नु नै राम्रो हुन्छ,’ उनले भनिन् ।
त्यस्तै, पहिरोको जोखिम भएका क्षेत्र तथा सडकखण्डमा यात्रा गर्दा मौसम र सडकको अवस्थालाई ध्यान दिन उनले सर्वसाधारणलाई आग्रह गरेकी छन् । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
पोखरेलले वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै जोखिमयुक्त क्षेत्रमा भने हेलचेक्र्याइँ गर्न नहुने बताइन् ।
धान काट्ने समय चलिरहेकाले सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने मौसमविद् पोखरेलले बताइन् । उनले किसानलाई मौसमको पूर्वानुमान हेरेर मात्रै धान काट्ने तथा भित्र्याउने कामको योजना बनाउन सुझाव दिइन् ।
उनका अनुसार वर्षाको सम्भावना र समय प्रणालीको गति तथा दिशामा निर्भर हुने भएकाले पछिल्लो पूर्वानुमानलाई ध्यान दिन आवश्यक छ । मौसमसम्बन्धी आधिकारिक सूचना र अद्यावधिकका आधारमा कृषि तथा अन्य गतिविधि तय गर्न उनले आग्रह गरिन् ।
मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य प्रक्रिया भएको पोखरेलले स्पष्ट पारिन् । नेपालमा अक्टोबर र नोभेम्बर सामान्यतया मौसम सफा रहने समय भए पनि यही अवधिमा बङ्गालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहने उनले बताइन् ।
‘त्यहाँ विकसित भएका सबै चक्रवात वा न्यून चापीय क्षेत्र नेपालसम्म आइपुग्छन् भन्ने हुँदैन । तर, कुनै प्रणाली उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेमा त्यसले वर्षा गराउन सक्छ । विशेषगरी, चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर वा उत्तरपश्चिमतर्फ सर्दा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ,’ उनले भनिन् ।
यस्ता प्रणालीले वर्षा गराउनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्ने उनले बताइन् । विगतमा पनि यस्ता मौसमी घटना देखिएकाले अहिलेको अवस्थालाई पूर्णतः नयाँ घटना भन्न नमिल्ने उनको भनाइ छ ।
जलवायु परिवर्तनले नयाँ प्रकारका मौसमी घटना मात्रै निम्त्याउने नभई पहिलेदेखि हुँदै आएका घटनाको आवृत्ति र तीव्रतामा समेत प्रभाव पार्न सक्ने उनले बताइन् । त्यसैले यस्ता घटनाको नियमित अध्ययन र अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।
मौसमविद् पोखरेलले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न आग्रह गरेकी छन् । हल्लाको पछि लागेर अनावश्यक त्रासमा नबस्न र सम्भावित जोखिमलाई बेवास्ता पनि नगर्न उनले सुझाव दिइन् ।
आधिकारिक पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।












