सय मिटर पहिरोले एक महिनादेखि राजमार्ग अवरुद्ध

ललितपुर । संघीय राजधानीको प्रशासनिक केन्द्र सिंहदरबारको नाकैमुनि मानिने ललितपुरको टिकाभैरवमा गएको सय मिटर लामो पहिरोले एक महिनादेखि टाहाखेल–टिकाभैरव सडक खण्ड अवरुद्ध छ ।

सिंहदरबार ‘नाकमुनि’को बाटो खुलाउनुभन्दा ढुंगा व्यवस्थापनमा ध्यान

संघीय राजधानी काठमाडौं उपत्यकाबाट प्रदेश राजधानी हेटौंडा जाने कान्ति राजपथसँग जोडिएको यो सडक अझै कहिले खुल्ने भन्ने अनिश्चित हुँदा ललितपुरको दक्षिणी भेकका तीन गाउँपालिका, गोदावरी नगरपालिकाका केही वडा तथा उक्त सडकमा यात्रा गर्नेहरू प्रभावित भएका छन् ।

एक महिनाअघि अर्थात् १० असोजमा गएको पहिरोका कारण अवरुद्ध कान्ति राजपथ सुरुमा प्राकृतिक स्रोतको राजस्व संकलनको विषयलाई लिएर विवादमा परेको थियो। अहिले भने प्राविधिक तथा कानुनी जटिलता थपिँदै गएको छ । पहिरो गएलगत्तै विपद् व्यवस्थापन समितिको नेतृत्वकर्ताका रूपमा प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालय ललितपुरको सक्रियतामा ट्रयाक खोल्ने काम भए पनि राजस्वको विवाद उठेपछि नगरपालिकालाई जिम्मा लगाइएको कार्यालय प्रमुख राजु श्रेष्ठले बताए ।

‘पहिरो पन्छाएर ट्रयाक खोले पनि क्लियर गर्दा धेरै ढुंगा हटाउनुपर्ने देखियो, ढुंगा सिधै झार्दा राजकुलो र नख्खु खोला थुनिने सम्भावना पनि भएकाले प्रक्रियाबाट निकासी गर्ने काम नगरपालिकाको भएकाले हस्तान्तरण गरिएको हो,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।

सुरुमा राजस्व विवादलाई लिएर ललितपुर क्षेत्र नं. १ का सांसद बुद्धरत्न महर्जन र गोदावरी नगरपालिकाका जनप्रतिनिधिबीच विवाद भएको थियो । तर, पूर्वाधार कार्यालयले नै नगरपालिकालाई जिम्मा लगाएपछि टाहाखेल र टिकाभैरव दुवैतर्फबाट दुई–दुईवटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने र ढुंगा व्यवस्थापन गर्ने काम भइरहेको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए ।

एक साताभित्र पहिरो पन्छाइसक्ने भनिए पनि ढुंगा व्यवस्थापनमा ध्यान दिइएकाले सडक खुलाउन ढिलाइ भएको भन्दै स्थानीय बासिन्दाले निरन्तर विरोध जनाउँदै आएका छन् । राजमार्गका ठूला पहिरुसमेत पन्छाएर सडक सञ्चालनमा ल्याइँदा पनि वैकल्पिक सडकबाट सवारी चलाएर ढुंगा निकासीको स्रोत बनाइएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

राजमार्गस्तरको सडकमा पहिरो पन्छाउने र प्राविधिक जटिलताको कारण देखाउँदै वनक्षेत्रतिर कटान बढाइएको भन्दै स्थानीयले विरोध गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको नेतृत्वमा पूर्वाधार कार्यालय प्रमुख श्रेष्ठ, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन युनिट तथा संघीय निकायका भूगर्भविद्सहितको टोलीले अनुगमन गरेको छ ।

स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले नियमित पहिरो एक–दुई दिनमा पन्छाउन सकिने देखिएको बताए । तर, थप पहिरो जान सक्ने जोखिमको प्राविधिक विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘गत महिना गएको पहिरोको ढुंगामाटो एक–दुई दिनमा सकिन्छ जस्तो देखियो। तर, सडक सुचारु गरेपछि पहिरो थपिन सक्ने जोखिमले गर्दा अरू काट्नुपर्ने कुरा आयो। अहिलेकै सतहबाट काट्न नसकिने भएपछि माथिसम्म स्काभेटर लगेर काट्नुपर्ने कुरा भएको छ। यसो भयो भने केही दिन थप लाग्न सक्छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।

उपमेयरको निर्देशनले अझै अनिश्चित
एक महिनाभन्दा लामो समयदेखि राजमार्ग अवरुद्ध गरिरहेको पहिरो यही हप्ताको अन्त्यमा हुने अनुमान गरिएको वर्षा र नगरपालिकाकी उपमेयर मुना अधिकारीको निर्देशनका कारण थप अनिश्चित बन्ने भएको छ ।

सम्भावित वर्षाले थप पहिरो जान सक्ने प्राविधिकहरूको विश्लेषण छ । अर्कोतर्फ, झर्न सक्ने सम्भावित पहिरोको नाममा वनक्षेत्रतिर स्काभेटर नलैजान उपमेयर अधिकारीले निर्देशन दिएकी छन् ।

नगरपालिकाबाट निर्णय गराएर पहिरो पन्छाउने क्रममा ढुंगा संकलन गरिरहेको कम्पनीले प्राविधिक जटिलताको नाममा थप ढुंगा संकलन गर्न जंगलमा डोजर चलाउन खोजेको भन्दै गुनासो आएपछि कार्यवाहक मेयरको समेत जिम्मेवारी सम्हालेकी अधिकारीले मंगलबार अनुगमन गरेकी थिइन् ।

‘पहिरो आउन सक्ने’ भन्दै वनक्षेत्रतिर डोजर चलाउने तयारी देखिएपछि कार्यवाहक वन कार्यालय र विपद् व्यवस्थापन समितिको निर्णयपछि मात्रै अघि बढ्न निर्देशन दिइएको उपमेयर अधिकारीले बताइन् ।

पहिरोका कारण भएको सडक अवरोध ढुंगाको लोभका कारण लम्बिएको ललितपुर क्षेत्र नं. १ का सांसद बुद्धरत्न महर्जनले दाबी गरेका छन् । दुई वर्षअघि पहिरोका कारण माटोले सडक थुन्दा एक महिनासम्म कसैले वास्ता नगरेको बताउँदै महर्जनले यसपटक ढुंगा खसेपछि वडाध्यक्षदेखि केही नेताका निकट ठेकेदारले ढुंगाका लागि लुछाचुँडी गरेको बताए ।

राजमार्गस्तरको सडक खुलाउन संघीय मन्त्रालयबाट बजेट र प्राविधिक सहयोगसमेत ल्याउन आफूले पहल गर्न खोज्दा तीन दिनमा सडक खोल्ने गरी जिम्मा लिएको पूर्वाधार कार्यालयले नै नगरपालिकालाई जिम्मा लगाइदिएपछि आफूसँग कुनै समन्वय नभएको सांसद महर्जनले बताए ।

‘पूर्वाधार कार्यालयले ट्र्याक करिब–करिब खोलिसकेको अवस्थामा एकाएक प्राविधिक जटिलता भन्दै पहिरो झरेको भन्दा माथिदेखि नै काट्नुपर्ने भनिएको छ। व्यवसायीहरूले ढुंगामा ध्यान दिएको जस्तो आलोचना भइरहेको छ । प्राविधिकले कस्तो रिपोर्ट दिएका छन्, मसँग समन्वय भएको छैन,’ महर्जनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु