धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नै ‘ब्लड बैंक’ (रक्तसञ्चार केन्द्र) सञ्चालनको तयारी अघि बढाएको छ । ब्लड बैंक स्थापनाका लागि विज्ञ टोलीले सम्भाव्यता अध्ययन गरिसकेको छ भने चाँडै सेवा सञ्चालनमा ल्याउने गरी प्रक्रिया थालिएको छ ।
विश्वविद्यालयले सेवा सुरु गर्ने तयारी गरे पनि तत्कालका लागि आवश्यक पर्ने केही आधारभूत उपकरण भने उपलब्ध नरहेको जनाएको छ । विश्वविद्यालयमा अत्याधुनिक उपकरणहरु भए पनि तिनलाई तत्कालै प्रयोगमा ल्याउन सकिने अवस्था नरहेको उपकुलपति डा. सुनिलकुमार जोशीले जानकारी दिए ।
विश्वविद्यालयमा रहेका उपकरणको प्राविधिक अवस्था र सञ्चालनयोग्यता मूल्यांकन गर्न काठमाडौँबाट रक्तसञ्चार तथा ब्लड बैंक विज्ञ डा. विपिन नेपालको टोलीलाई आमन्त्रण गरिएको थियो । उक्त टोलीको अनुगमन अनुसार यहाँ उपलब्ध उपकरणहरु उच्च प्रविधिका भए पनि तिनलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन सेवा विस्तार भएको एकदेखि दुई वर्ष लाग्ने देखिएको छ ।
‘ब्लड बैंक सञ्चालनको प्रारम्भिक चरणमै चाहिने रगतको समूह पहिचान (ब्लड ग्रुपिङ) लगायतका आधारभूत उपकरणहरु भने अहिले उपलब्ध छैनन्,’ उपकुलपति डा. जोशीले भने, ‘त्यसैले तत्काल सेवा सुरु गर्न आवश्यक सामग्री खरिद गर्नुपर्ने भएको छ ।’
विश्वविद्यालय प्रशासनले आवश्यक उपकरण खरिदका लागि बजेट स्वीकृत गराएर प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यथाशीघ्र उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उपकुलपति डा. जोशीले बताए ।
ऋाफ्नै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामी तथा सेवाग्राहीलाई रगत र रगतजन्य सेवा पाउन सहज हुने अपेक्षा गरिएको छ । विश्वविद्यालयले सामान्य ब्लड बैंकमा मात्र सीमित नरही रगतका विभिन्न तत्व छुट्याउने (ब्लड कम्पोनेन्ट) आधुनिक प्रयोगशाला स्थापना गर्ने र भविष्यमा एन्टीबडीमा आधारित इम्युन थेरापीसम्मका उच्चस्तरीय सेवा उपलब्ध गराउने दीर्घकालीन लक्ष्य राखेको छ ।
सम्बन्धित समाचार
एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल
चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन
सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या ३ पुग्यो
सेती अस्पतालका कर्मचारी आन्दोलनमा, तलब–भत्ता वृद्धिबाट वञ्चित पारिएको गुनासो
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस






