धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार धनगढीमा आयोजित साधारणसभामा संस्थाको आर्थिक अवस्था, प्रगति, भावी योजना तथा सदस्यकेन्द्रित सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रोशन सिंहले स्थापनाकालदेखि नै सहकारीले सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा योगदान पुर्याउँदै आएको बताए । सदस्यकेन्द्रित वित्तीय तथा गैरवित्तीय सेवा प्रवाहका कारण संस्थाप्रति सदस्यहरूको विश्वास र आकर्षण बढ्दै गएको उनको भनाइ थियो ।
अध्यक्ष सिंहले आगामी चार वर्षका लागि प्राप्त नेतृत्वको जिम्मेवारीलाई सम्मान गर्दै संस्थाको हित र दिगो विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सहकारीलाई सुशासित, पारदर्शी, जवाफदेही र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्नु वर्तमान सञ्चालक समितिको मुख्य लक्ष्य रहेको उनले बताए ।
सभामा संस्थाका व्यवस्थापक महेन्द्र शाहीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण र आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित विवरण प्रस्तुत गरेका थिए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति ९७ करोड ८३ लाख ३६ हजार रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षमा उक्त सम्पत्ति बढेर एक अर्ब पाँच करोड ४१ लाख ११ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, संस्थाको शेयर पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ लाख ५३ हजार ९५८ रुपैयाँले वृद्धि भई पाँच करोड ११ लाख ८८ हजार २५८ रुपैयाँ पुगेको छ । सोही अवधिमा संस्थाको कुल बचत निक्षेप ७० करोड २९ लाख ४६ हजार रुपैयाँ र कुल आम्दानी एक करोड २० लाख ४६ हजार रुपैयाँ रहेको व्यवस्थापक शाहीले जानकारी दिए ।
साधारणसभाका अवसरमा सहकारीको विकास, व्यवस्थापन र प्रवर्द्धनमा योगदान पुर्याउने कर्मचारी, पत्रकार तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको छ ।
उत्कृष्ट कर्मचारीका रूपमा अत्तरिया शाखामा कार्यरत कर्जा सहायक लव शाहलाई पाँच हजार १५५ रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । त्यस्तै, सहकारी क्षेत्रको प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै पत्रकार हरिप्रसाद जोशीलाई पनि नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
ज्येष्ठ सदस्य सम्मानअन्तर्गत धनगढी उपमहानगरपालिका–४ का खेमबहादुर देउवा, गौरीगंगा नगरपालिका–८ का डमरबहादुर देउवा र कैलारी गाउँपालिका–४ का ठागुराम थारु सम्मानित भएका छन् ।
त्यसैगरी, उत्कृष्ट बचतकर्ताका रूपमा धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र वनजाडे, गोदावरी नगरपालिका–१ का डबल चौधरी, गौरीगंगा नगरपालिका–८ की झुपा खत्री र कैलारी गाउँपालिका–५ का कालुराम चौधरीलाई सम्मान गरिएको छ ।
असल ऋणी सदस्यका रूपमा धनगढी उपमहानगरपालिका–१ का प्रकाश नेपाली, गोदावरी नगरपालिका–२ का विवेक ढुंगेल, गौरीगंगा नगरपालिका–८ की बजारी कुमारी चौधरी र कैलारी गाउँपालिका–५ की फिरुदेवी चौधरी सम्मानित भएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष विमल जोशीले स्वागत मन्तव्य राखेका थिए भने सचिव वसन्ती भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
साधारणसभामा संस्थाका विभिन्न शाखामा कार्यरत कर्मचारी, शेयर सदस्य, ऋणी तथा सहकारीसँग आबद्ध सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
कर्णालीको पर्यटन मन्त्रालयले एक वर्षमा उठायो झण्डै १५ करोड राजश्व
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
राष्ट्र बैंकको वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सूचना प्रवाह गरिने
असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात
प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य






