सशस्त्र प्रहरी बल झापाद्वारा २३ लाख ५९ हजार रुपैयाँबराबरका पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब २३ लाख ५९ हजार रुपैयाँबराबरका पटका तथा आतिसबाजीजन्य सामग्री शुक्रबार नष्ट गरेको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री आज नष्ट गरिएको हो ।

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा गण परिसरमा खाल्डो खनी नष्ट गरिएको हो । पटाका तथा आतिसबाजीजन्य सामग्रीहरू नष्ट कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, झापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताए ।

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले जिल्लावासीलाई आग्रह गरे ।

यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बल झापाद्वारा २३ लाख ५९ हजार रुपैयाँबराबरका पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट