काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले नेपालको अर्थतन्त्रलाई धानेको देखिए पनि त्यसअनुसार स्वदेशमा उत्पादन, लगानी र रोजगारी विस्तार हुन नसकेको तथ्य नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनले देखाएको छ ।
एक वर्षमा विदेशबाट २३ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ । त्यसले विदेशी मुद्रा सञ्चिति बढाउन र देशको बाह्य कारोबार सन्तुलित राख्न सहयोग गरे पनि वस्तु व्यापार घाटा भने १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा हुने क्रम बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह साढे ६ प्रतिशतमा सीमित भएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनअनुसार विदेशमा काम गर्ने नेपालीले पठाएको रकम अघिल्लो वर्षको तुलनामा ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १९.२ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा विदेशबाट आउने रकमको हिस्सा २७.८ प्रतिशतबाट बढेर ३५.५ प्रतिशत पुगेको छ ।
विदेशबाट आएको रकम बढ्दा विदेशी मुद्रा सञ्चितिमा समेत सुधार आएको छ । २०८३ असार मसान्तमा नेपालको कुल विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर २५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो सञ्चिति २९.८ प्रतिशतले बढेको हो ।
अहिलेको सञ्चितिले १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको आकलन छ । वस्तु आयात मात्रै गर्दा भने २३ महिनासम्म धान्न पर्याप्त हुने देखिन्छ । तर, विदेशी मुद्रा सञ्चिति बढे पनि नेपालको निर्यात क्षमता कमजोर छ । एक वर्षमा नेपालले ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँका वस्तु विदेश पठाउँदा २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँका वस्तु किनेको छ ।
निर्यात १३.८ प्रतिशतले बढ्दा आयात १६.२ प्रतिशतले बढेको छ । यसले गर्दा एक वर्षमा वस्तु व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अर्थात् नेपालले विदेशबाट १०० रुपैयाँको वस्तु किन्दा निर्यात गरेर १५ रुपैयाँ मात्रै कमाउन सकेको छ ।
कुल व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत पुगेको छ । भारतसँग ८ खर्ब ५१ अर्ब ९५ करोड, चीनसँग ४ खर्ब २३ अर्ब ३५ करोड र अन्य मुलुकसँग ५ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँको व्यापार घाटा छ ।
विदेशबाट आउने रकमले देशको आर्थिक गतिविधिलाई धाने पनि स्वदेशी उद्योग तथा व्यवसायमा लगानी बढ्न सकेको छैन । एकातिर बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकम १३.९ प्रतिशतले बढेको छ भने अर्कोतिर निजी क्षेत्रमा गएको कर्जा ६.५ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्ष निजी क्षेत्रमा कर्जा विस्तार ८.४ प्रतिशत थियो । यसले बैंकमा पैसा जम्मा हुने क्रम बढे पनि उद्योग, व्यापार तथा व्यवसाय विस्तारका लागि कर्जा लिने र लगानी गर्ने क्रम अपेक्षाकृत बढ्न नसकेको देखाउँछ ।
बैंक तथा वित्तीय संस्थाबीच एकअर्कासँग लिने र दिने छोटो अवधिको रकमको औसत ब्याजदर २.७५ प्रतिशत छ ।
स्वदेशमा विदेशी लगानी आकर्षित गर्ने अवस्था पनि उत्साहजनक छैन । समीक्षा वर्षमा विदेशी कम्पनी तथा लगानीकर्ताबाट आएको खुद लगानी २८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो लगानी १२ अर्ब २ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा १३७ प्रतिशतले बढे पनि अर्थतन्त्रको आकारका तुलनामा यसको परिमाण अझै सानो छ ।
आर्थिक वृद्धिदर कमजोर
आर्थिक वृद्धिदरसमेत कमजोर देखिएको छ । राष्ट्र बैंकले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान उद्धृत गर्दै आर्थिक वर्ष २०८२÷८३ मा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत र उत्पादकको मूल्यमा ३.८५ प्रतिशत रहने जनाएको छ ।
कृषि क्षेत्रको उत्पादन १.५८ प्रतिशतले मात्रै बढ्ने अनुमान छ । गैरकृषि क्षेत्रको उत्पादन भने ४.५४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
महँगीका हिसाबले भने समीक्षा वर्ष तुलनात्मक रूपमा सहज देखिएको छ । वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ३.०८ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि ४.०६ प्रतिशत थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि ५ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य लिएको थियो ।
सरकारको आम्दानी र खर्चबीचको अन्तर पनि ठूलो छ । समीक्षा वर्षमा सरकारको कुल खर्च १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रतिवेदनमा अन्य प्राप्तिसमेत जोडेर सरकारी राजस्व संकलन १२ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
१३ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट
एक अमेरिकी डलर किन्न तिर्नुपर्छ आज १५१ रुपैयाँ ४७ पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो
१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार






