एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको जित निकालेको हो ।

नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । युएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो । यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए ।

युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए । त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट लिए । यो जितपछि नेपालले महत्वपूर्ण २ अङ्क जोडेको छ ।

नेपाल अहिले समूह ‘बी’ तालिकामा २ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने