ग्रामीण क्षेत्र सहरसँग जोड्न धनगढीले ल्यायो ६ विद्युतीय बस

धनगढी । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्न खरिद गरेका ६ वटा विद्युतीय (ईभी) बस आइपुगेका छन् । टेन्डर प्रक्रियामार्फत खरिद गरिएका बस बिहीबार उपमहानगरपालिकाको कार्यालयमा आइपुगेका हुन् ।

तीन रुटमा चलाइने

उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका गाडी बिहीबार उपमहानगरपालिका कार्यालय परिसरमा ल्याइएका हुन् ।

ग्रामीण क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउने, विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउने तथा स्थानीय कृषि र घरेलु उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले उपमहानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।

उपमहानगरपालिकाका अनुसार ती बस तीनवटा रुटमा सञ्चालन गरिनेछन् । पहिलो रुट वनवेहडा–वडा नम्बर १७–देवरिया हुँदै धनगढी बजारसम्म हुनेछ ।

दोस्रो रुट चौमाला–वडा नम्बर १६–१५–कनरी हुँदै धनगढी बजारसम्म र तेस्रो रुट धनगढी–१२ को जुगेडाबाट वडा नम्बर १०, ९ र ८ हुँदै धनगढी बजारसम्म रहनेछ ।

विद्युतीय बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई बजारसम्म आवतजावत गर्न सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ । यसबाट विद्यार्थी, रोजगारीका लागि दैनिक आवतजावत गर्ने नागरिक तथा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने किसान लाभान्वित हुने विश्वास गरिएको छ ।

विद्युतीय बसले ग्रामीण क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुका साथै वातावरणमैत्री यातायात सेवा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्युतीय गाडी सञ्चालनमार्फत नगरको ग्रामीण क्षेत्रमा वातावरणमैत्री, भरपर्दो र सहज सार्वजनिक यातायात सेवा विस्तार गर्ने उपमहानगरपालिकाको लक्ष्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा