बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन

बझाङ । दशैँ र तिहारको खुसी साटेर घरबाट कर्मथलो फर्किन लागेका थिए । छोराछोरीको भविष्यका सपना थिए, परिवारसँगै बसेर जीवन बिताउने चाहना थियो। लामो समयको दूरीपछि अब परिवार एउटै ठाउँमा बस्ने आशा पलाएको थियो। तर, नियतिको क्रूर प्रहारले शिक्षक दीपक महराको त्यो सुन्दर सपना एकैछिनमा चकनाचुर पारिदिएको छ। श्रीमती, छोरा, छोरी र भतिजीलाई सधैँका लागि गुमाउनुपर्दा उनको संसार नै उजाडिएकोछ।

बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडामा सोमबार बिहान भएको अटोरिक्सा दुर्घटनाले एउटा परिवारमा कहिल्यै निको नहुने घाउ छोडेको छ। दुर्घटनामा एउटै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिदा मनाउन घर आएका आमा, छोरा, छोरी र भतिजीको दुर्घटनामा मृत्यु, छोराछोरीलाई आफूसँगै राखेर पढाउने शिक्षकको सपना अधुरै।

सोमबार बिहान करिब १०: ३० बजे टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाकाे विथ्थड बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा बुङ्गल नगरपालिका वडा नम्बर १० की २६ वर्षीया राजमति महरा, उनका सात वर्षीय छोरा रियास महरा, दुई वर्षीया छोरी रियासा महरा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको हो। एउटै परिवारका चार सदस्यको एकैपटक मृत्यु भएपछि आफन्त, छरछिमेक र गाउँ नै शोकमा डुबेको छ।

यो दुर्घटनाको पीडा सामान्य पारिवारिक क्षतिभन्दा निकै गहिरो रहेकाे वडा नम्बर १० का वडा अध्यक्ष प्रेम ओखेडाले बताए । मृतक राजमतिका श्रीमान् दीपक महरा स्थायी शिक्षक हुन्। उनी यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय, बडालमा अध्यापन गराउँदै आएका थिए। उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा अध्ययनरत थिए। छोराछोरीको हेरचाह र पढाइको जिम्मेवारी उनकि श्रीमती राजमतिले सम्हाल्दै आउनुभएको थियो।

दशैँ र तिहार मनाउन उनीहरू घर आएका थिए । पर्वको खुसी साटासाट गरेपछि विद्यालयको बिदा सकिएसँगै डडेल्धुरा फर्किन लागेका हुन्। उनीहरूको यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने यात्रा मात्रै थिएन, त्यो त बालबालिकाको पढाइ र परिवारको भविष्यसँग जोडिएको यात्रा थियो। तर, गन्तव्यमा पुग्न नपाउँदै त्यो यात्रा जीवनकै अन्तिम यात्रा बन्यो।

दीपक महरा केही महिना अघि मात्रै डडेल्धुराबाट आफ्नै गृह जिल्ला बझाङ फर्किएका थिए। गत साउन महिनामा उनको सरुवा बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय, तोलीचौरमा भएको थियो। परिवारबाट टाढा रहेर जागिर र छोराछोरीको पढाइ व्यवस्थापन गर्दै आएका उनले अब भने परिवारसँगै बसेर जीवन अगाडि बढाउने योजना बनाएका थिए।

उनको सपना थियो, यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र आगामी शैक्षिक सत्रदेखि आफू कार्यरत विद्यालयमै ल्याएर आफूसँगै राख्ने, छोराछोरीको पढाइ आफैँले हेर्ने, उनीहरूको बाल्यकाल नजिकबाट नियाल्ने र परिवारसँगै बसेर सुखदुःख बाँड्ने उनको चाहना थियो।

तर, साउन महिनामा गृह जिल्लामा सरुवा मिलाएर फर्किएका दीपकले सँगै बस्ने योजना बनाउँदै गर्दा नियतिले उनको जीवनमा असह्य बज्रपात गरिदिएकाे छ । जुन परिवारलाई आफूसँगै राख्ने सपना उनले देखेका थिए, आज त्यही परिवारका चार सदस्यलाई एकैपटक गुमाउनुपरेको छ।

अब दीपकको घरमा श्रीमतीको साथ हुनेछैन। छोराछोरीका चञ्चल आवाज सुनिने छैनन्। बाबुसँगै बस्ने र पढ्ने उनीहरूको भविष्यको सपना पनि अधुरै रहनेछ। एउटा शिक्षकले अरूका छोराछोरीको भविष्य निर्माण गरिरहँदा आफ्नै छोराछोरीलाई आफूसँगै राखेर पढाउने सपना भने कहिल्यै पूरा नहुने गरी भत्किएको छ।

बुङ्गल नगरपालिका–१० का वडाध्यक्ष प्रेम ओखेडाका अनुसार उनीहरू आफ्नै घरबाट डडेल्धुरातर्फ जान लागेका थिए। दुर्घटनामा अटोरिक्सा चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातली प्रहरी नियन्त्रणमा रहेका छन्। अटोरिक्सामा सवार सोही ठाउँका १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । दुर्घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एउटै दुर्घटनाले चार जनाको जीवन खोस्यो । एउटा परिवारको खुसी लुट्यो, श्रीमतीको माया, छोराछोरीको भविष्य र आफन्तको साथ एकैपटक समाप्त बनाएको छ । जीवनभर साथ दिने वाचा गरेका सम्बन्धहरू अब सम्झनामा मात्र सीमित भएकाे यहाँका स्थानियकाे भनाई छ। परिवारसँगै बस्ने दिन नजिकिँदै थियो, तर परिवार नै रहेन । छोराछोरीलाई आफूसँगै राखेर पढाउने सपना थियो, तर उनीहरूलाई नै सधैँका लागि बिदा गर्नुपर्ने नियति आइपर्‍यो।

शिक्षक दीपक महराका लागि यो केवल दुर्घटना होइन, जीवनभर बोकेर हिँड्नुपर्ने असह्य पीडा हो। समय बित्दै जाला, तर श्रीमती, छोरा, छोरी र भतिजीको अभावले दिएको घाउ सायद कहिल्यै निको हुने छैन।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको एमालेको आरोप