सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा २९८ वटा सवारी दुर्घटना भएका छन् । कात्तिक १ देखि मसान्तसम्म प्रदेशका नौवटै जिल्लामा भएका दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांकअनुसार दुर्घटनामा परी ४३२ जना घाइते भएका छन् । उनीहरूमध्ये सबै सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गर्दै आए पनि दुर्घटनाको संख्या भने उल्लेख्य देखिएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार बढी दुर्घटना हुने स्थान पहिचान गरी सडकमा राखिएका चेतनामूलक बोर्डको मर्मत तथा सुधार भइरहेको छ । हालसम्म ८५ स्थानमा यस्ता बोर्डको मर्मत तथा सुधार गरिएको छ । अन्य जोखिमयुक्त स्थानमा पनि सडक सुरक्षासम्बन्धी सुधारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।

त्यस्तै, धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा पैदलयात्रुलाई सडक पार गर्न सहज बनाउन जेब्राक्रस निर्माण तथा सुधारको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा लेन अनुशासन कायम गराउन पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्कीले बताए ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्ने क्रममा कात्तिक १ देखि २९ गतेसम्म ३ हजार ३९२ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् । उनीहरूबाट २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने ४३२ जना चालकलाई कारबाही गरी २ लाख ४५ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालक, सहचालक, यातायात व्यवसायी, विद्यार्थी तथा अन्य सडक प्रयोगकर्तालाई लक्षित गरी ८४० पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रमबाट ७६ हजार ६१९ जना लाभान्वित भएका छन् ।

सार्वजनिक यातायातका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने दुईवटा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । त्यस्तै, तीनपांग्रे सवारीसाधनको अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि स्थानीय तह र व्यवसायीसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरीले सडक डिभिजन कार्यालय डोटी र डिभिजन सडक कार्यालय दिपायलको समन्वयमा ३५ थान ट्राफिक कोन र २० थान कनेक्टरसमेत प्राप्त गरेको छ ।

ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति तथा सडक सुरक्षाप्रति पर्याप्त सचेतनाको अभाव दुर्घटना न्यूनीकरणका प्रमुख चुनौतीका रूपमा देखिएका छन् । विभिन्न अभियान र कारबाहीका बाबजुद दुर्घटनाको संख्या उच्च रहनुले सडक सुरक्षाका उपायलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु