आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन् ।

मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो । कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ । खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ ।

भगवान् सूर्य र सूर्यपत्नी षष्ठी अर्थात् छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ । मिथिलामा यस विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

अघ्र्यका लागि घरघरमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन् । व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन् ।

साँझको अघ्र्य दिएपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ । भोलिपल्ट सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालु जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा बसेर सूर्य उदाउने प्रतीक्षा गर्छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने पर्व सम्पन्न हुन्छ । मिथिलामा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोगव्याधिबाट मुक्ति पाइने जनविश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै