सात महिनादेखि सुकुम्बासीको बिचल्ली

काठमाडौं । बस्ती भत्काएर विस्थापित गरेको सात महिना बितिसक्दा पनि सुरक्षित आवासको व्यवस्था गर्न नसकेको सरकारले उल्टै अस्थायी आश्रयस्थलबाट समेत सुकुम्बासीलाई हटाउन थालेपछि उनीहरूको बिचल्ली भएको छ ।

पुनर्वासको टुंगो नलगाई होल्डिङ सेन्टर खाली गर्न आदेश दिएको सरकारले शुक्रबारदेखि खाना उपलब्ध गराउनसमेत रोकेपछि विस्थापित परिवार दालमोठ र चिउरा खाएर विरोधमा उत्रिएका छन् ।

सरकारको कमजोर तयारी, फितलो व्यवस्थापन र पुनर्वाससम्बन्धी अस्पष्ट निर्णयको मारमा परेका सुकुम्बासी परिवार अहिले आवासविहीन हुने थप जोखिममा छन् । तीन महिनाभित्र व्यवस्थापन गर्ने आश्वासन दिएर बस्ती हटाएको सरकारले सात महिनासम्म पनि वास्तविक भूमिहीनको पहिचान र पुनर्वासको प्रक्रिया टुंग्याउन सकेको छैन । बरु अस्थायी रूपमा राखिएका होल्डिङ सेन्टरसमेत खाली गराउन थालेपछि विस्थापित परिवारको पीडा थपिएको छ ।

सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमालेसहितका राजनीतिक दलका नेताहरू विरोधमा उत्रिएका छन् । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरदेखि काठमाडौंको माइतीघरसम्म विस्थापित परिवारले प्रदर्शन गरेका छन् । राजनीतिक दलहरूले वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई आश्रयस्थलबाट हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, सामाजिक न्याय र राज्यको दायित्वविपरीत भएको भन्दै सरकारमाथि दबाब बढाएका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट परिवारलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । नेकपा एमालेले पनि सरकारको कदमलाई अमानवीय र गैरजिम्मेवार भन्दै विरोध जनाएको छ । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समेत विकल्पविना होल्डिङ सेन्टरबाट नागरिक हटाउने निर्णय सरकारको गम्भीर भूल भएको बताएका छन् ।

सरकारले पुनर्वासको प्रतिबद्धता पूरा नगरी अस्थायी आश्रयस्थलसमेत खाली गराउन खोजेपछि सुकुम्बासीको सवालमा प्रमुख राजनीतिक दलहरूको समान दृष्टिकोण देखिएको छ । आवासको विकल्प सुनिश्चित गरेर मात्र विस्थापित परिवारको व्यवस्थापन गर्नुपर्ने उनीहरूको साझा माग छ ।

पुनर्वासको टुंगो नलगाई आश्रयस्थलबाटै हटाउन खोजिएपछि विरोध

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि गत १२ वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान सुरु भएको थियो । थापाथली, शान्तिनगर, गैरीगाउँ, सिनामंगल र मनोहरालगायत क्षेत्रमा डोजर परिचालन गरी बस्तीका संरचना हटाइएको थियो । काठमाडौंका केही स्थानमा बस्ती खाली गराउने काम शान्तिपूर्ण भए पनि भक्तपुरको मनोहरा क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी अधिकारीसहित १४ जना घाइते भएका थिए ।

बस्ती हटाउनुअघि सरकारले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने र वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासी पहिचान गरी व्यवस्थापन गर्ने बताएको थियो । प्रधानमन्त्री शाहले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सुरुमा तीन महिनाभित्र व्यवस्थापन गर्ने भनिए पनि सात महिना बितिसक्दा धेरै परिवारको स्थायी बसोबासको समस्या समाधान हुन सकेको छैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार बस्तीबाट हटाइएका ३८८ घरधुरीका एक हजार ४८८ जना बागमती सभ्यता एकीकृत विकास समितिको सम्पर्कमा छन् । तीमध्ये इचंगुनारायणमा ४५, खरिपाटीमा ३२ र बोडेमा १९ गरी ९६ परिवार अझै विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् ।

अस्थायी आश्रयस्थललाई नै दीर्घकालीन व्यवस्थापनको विकल्पजस्तो बनाइएको छ । वास्तविक भूमिहीनको पहिचान, जग्गा उपलब्ध गराउने प्रक्रिया र पुनर्वासको समयसीमा स्पष्ट नहुँदा विस्थापित परिवार महिनौँदेखि अनिश्चिततामा छन् । अहिले आएर होल्डिङ सेन्टरसमेत खाली गराउन खोज्नुले सरकारको पूर्वतयारी र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालित होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरेपछि विवाद थप चर्किएको हो । प्रशासनले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको थियो । बिहीबार साँझ प्रहरी पुगेर माइकिङ गरेपछि विस्थापित परिवारले विरोध जनाएका थिए ।

शुक्रबार दिउँसो १२ बजेसम्म खाना नपाएपछि बोडेमा रहेका विस्थापितले रित्तो थाल ठटाएर प्रदर्शन गरेका थिए । यसअघि शान्ति सेवा गृहले उनीहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । खाना रोकिएपछि केही परिवार आफैँले व्यवस्था गरेर खान बाध्य भए भने केहीले चिउरा र दालमोठ खाएर विरोध जनाए । त्यहाँ रहेका १९ परिवारका ५९ जनामध्ये १७ जना बालबालिका रहेको विवरण सार्वजनिक भएको छ । खाना अभावका कारण बालबालिकाको विद्यालय जाने क्रमसमेत प्रभावित भएको छ ।

प्रशासनको सूचना जारी भएपछि विस्थापित परिवारले वैकल्पिक आवास सुनिश्चित नभएसम्म आफूहरूलाई जबर्जस्ती नहटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले भूस्वामित्वसहितको आवास, भत्काइएका घरटहराको क्षतिपूर्ति र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न पनि माग गरेका छन् ।

उपलब्ध विवरणअनुसार बोडे होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारका घरमूली वा सदस्यका नाममा जग्गा रहेको देखिएको छ । बाँकी १२ परिवारका नाममा जग्गा नदेखिएको र उनीहरूका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको तथा निस्सा प्राप्त भएको प्रशासनको भनाइ छ ।

तर, जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको भनिए पनि परिवारलाई तत्काल कहाँ र कसरी पुनर्वास गराउने भन्ने स्पष्ट व्यवस्था नहुँदा उनीहरू अन्योलमा छन् ।

यसअघि पनि विस्थापित परिवारको उचित व्यवस्थापन माग गर्दै माइतीघर मण्डलामा पटक–पटक प्रदर्शन भएका थिए । गाँस, बास र कपासको व्यवस्था, भू–स्वामित्वसहितको आवास र सुरक्षित पुनस्र्थापनाको माग गर्दै सुकुम्बासी तथा विभिन्न संगठनले प्रदर्शन गर्दै आएका छन् । बोडेमा पछिल्लो घटनापछि पनि विस्थापित परिवारको समस्या सडकदेखि राजनीतिक वृत्तसम्म पुगेको छ ।

कांग्रेस–एमालेसहितका दल एकै ठाउँमा

सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै विरोध जनाएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले सरकारलाई निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको छ । पार्टीले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ । समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी विस्थापित गर्नु निन्दनीय भएको बताएका छन् । महामन्त्री उदयशम्शेर राणाले पनि वैकल्पिक आवासको व्यवस्था नगरी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

नेकपा एमालेले पनि सरकारको निर्णयको विरोध गरेको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले वैकल्पिक आवासको सुनिश्चितताबिना विस्थापित परिवारलाई अस्थायी आश्रयबाट समेत हटाउने निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएका छन् । घर भत्काएर पुनर्वासको आश्वासन दिने तर महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्न खोज्ने सरकारी कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत भएको उनको भनाइ छ ।

पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि सरकारले विकल्पविना होल्डिङ सेन्टरबाट नागरिक हटाउने निर्णय गर्नु गम्भीर भूल भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले समेत वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित परिवारलाई अस्थायी आश्रयस्थलबाट हटाउन खोज्नु अमानवीय, असंवेदनशील र गरिबविरोधी कदम भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

सुकुम्बासी व्यवस्थापनको विषयमा फरक राजनीतिक दलले एउटै धारणा सार्वजनिक गर्नुले सरकारमाथिको दबाब थपिएको छ । कांग्रेस र एमालेसहितका दलले आवासको विकल्प सुनिश्चित नगरी विस्थापित परिवारलाई हटाउन नहुने अडान लिएका छन् । यसले सरकारले बस्ती हटाउन देखाएको सक्रियता पुनर्वास र व्यवस्थापनमा देखाउन नसकेको कमजोरीलाई पनि उजागर गरेको छ ।

सरकारले बस्ती हटाउने क्रममा देखाएको तदारुकता विस्थापित परिवारको व्यवस्थापनमा देखाउन सकेको छैन । वास्तविक भूमिहीन पहिचान, जग्गा उपलब्ध गराउने प्रक्रिया, अस्थायी आवासको निरन्तरता र पुनर्वासको स्पष्ट समयसीमा तय गर्न नसक्दा सात महिनादेखि परिवारहरू अन्योलमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

ठेकेदारको बदमासीले इलाममा तीन आयोजना अलपत्र, ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदै पूर्वाधार