काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका डिल्लीबजार मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पौडेललाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट दायर भएको मुद्दामा विशेष अदालतले तत्कालीन मालपोत अधिकृत पौडेललाई ३ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । विशेष अदालतले थुनामा पठाउने आदेशपछि पौडेल सो फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्ति तथा संस्था विशेषको नाममा दर्ता गरेको अभियोगमा २२ माघमा अख्तियारले तत्कालीन मालपोत अधिकृत पौडेलसँगै तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो । पहिलोपटक अदालतमा हाजिर भएका प्रतिवादी पौडेललाई धरौटी नमागी थुनामा पठाउने आदेश दिएको थियो ।






