देशको स्वास्थ्य क्षेत्रमा दाताहरूले उपलब्ध गराएको करिब ११ अर्ब रुपैयाँको यथार्थ खर्च विवरण सार्वजनिक हुन नसकेपछि आपारदर्शिताको प्रश्न खडा भएको छ । अनुदानप्राप्त रकमको मूल हिस्साको खर्च स्वास्थ्य लक्षित भौतिक संरचना निर्माणमा गरिएको जनाइए पनि सोअनुरूपको खर्च विवरणमा नखुल्दा अपारदर्शिताको आशंका निम्तिएको हो । सो हिसाब लेखापरीक्षणमा पनि समावेश नभएको देखिँदा आशंकामा बल पुग्न गएको छ । नयाँ भौतिक संरचना निर्माण र भूकम्पले भत्काएका भवन पुनर्निर्माणमा खर्च गरिएको भनिए पनि जर्मन तथा जापानी संस्थाहरूले नेपालको स्वास्थ्य क्षेत्रमा मुठ्ठी फुकाएर गरेको आर्थिक सहयोगको सदुपयोग हुन नसकिरहेको स्वास्थ्य विज्ञहरूको गम्भीर टिप्पणी छ । यही समस्यालाई समाधान गर्न आर्थिक कार्यविधि नियमावली प्रयोगमा ल्याइएको १२ वर्ष बितिसक्दा पनि समस्या उल्टै बल्झन छाडेको छैन ।
जर्मन तथा जापानी संस्थाहरूले नेपालको स्वास्थ्य क्षेत्रमा मुठ्ठी फुकाएर गरेको आर्थिक सहयोगको सदुपयोग हुन नसकिरहेको स्वास्थ्य विज्ञहरूको गम्भीर टिप्पणी छ
अर्कोतिर कोरोनाको महामारीसँगै स्वास्थ्य क्षेत्र सुधारका लागि छुट्याइएको बजेटको पनि सदुपयोग हुन सकेको छैन ।
कोरोना महामारी फैलँदो क्रममा देखापरिरहेको छ । तर, त्यसको उचित जाँच, संक्रमितको परीक्षण तथा पीसीआर मेसिनहरू एकपछि अर्को गरी बिग्रदै गइरहेका छन् । तिनको सट्टामा नयाँ खरिद गरिएका छैनन् । स्वाब परीक्षण किटहरू पनि हजारौंको संख्यामा काम नलाग्ने भएर बिग्रिएका छन् । उता महामारी आम हुन थालेको हो कि भन्ने आशंकालाई पुष्टि गर्नेगरी दूरदराजका ग्रामीण इलाकाहरूमा स्थानीय जनतामा संक्रमणको असर देखापरिरहेको छ । पहिले खरिद गरिएका तर पुराना भई काम नलाग्ने हुँदै गएका पीपीई पनि फेर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । पुरानै झुत्रे पीपीई लगाएर स्वास्थ्यकर्मीहरूले डराउँदै र तर्संदै काम गरिरहेको अवस्था छ । जनतामा अब सरकारले स्वास्थ्य र उपचारको विषयलाई लिएर आमलाई सेवा र सुविधा उपलब्ध गराउन छाडिसकेको भान पर्न थालिसकेको छ । यसले कोरोना भन्ने महामारी त्यस्तै त हो भन्ने लापर्बाही र हेलचेक्र्याइँको वातावरण सिर्जना गर्न उल्टै सहयोग पु-याइरहेको देखिएको छ ।
अर्कोतिर मनसुनी वायुको सघन बहाव र त्यसले पारेको अबिरल झरीले देशव्यापी समस्या खडा गरिरहेको छ । बाढी, पहिरो र डुबानले आम जनतालाई उकुसमुकुसको वातावरणमा जीवन जिउन बाध्य पारिरहेको छ । घाइते तथा बिरामीको चाप अस्पतालहरूमा बढ्दै गएको छ । विपत्ति एकलै आउँदैन भनेझैं बाढी, पहिरो र डुबानले भयंकर संक्रामक रोगहरू ल्याउने सम्भावना देखिएको छ । यसको पूर्वतयारी गरिनु जरुरी छ । स्क्रब टाइफसजस्ता कीटाणुहरूको आक्रमणबाट मानिसको मृत्यु हुन थालिसकेको छ । यसका बारेमा सरकार निकै चनाखो र सतर्क हुन जरुरी छ । संक्रमणको आक्रमण महायुद्धमा उभिएको सिपाहीमाथि चारैतिरबाट हुने आक्रमणजस्तै हुन सक्छ । जत्तिको आँखाअगाडिको दुस्मनसँग बच्न अनेकौं उपाय गरिएला तर छेउछाउ र पछाडिको दुस्मनसँग लड्न मृत्युमाथि विजय प्राप्त गरे बराबरको शक्ति र जुगाड र ज्ञानको जरुरी छ । त्यसैले, सरकारले स्वास्थ्य क्षेत्रमा एकैपटक आइपरेका तमाम समस्यासँग लड्नका लागि सानोतिनो तयारीले पुग्ने देखिँदैन । हाल भएका कमीकमजोरी लापर्बाही समयमै सच्याउँदै स्वास्थ्य क्षेत्रमा व्याप्त मनपरी अन्त्य गर्दै यो क्षेत्रलाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्छ ।