नेपालले सामना गरिरहेका समस्या

नेपाल धेरै प्रकारले पछि परिरहेको छ । देशले विकास नै नगरेको होइन तर यसको गति अन्य देशसँग तुलना गर्दा पछि परेको अवस्था छ । हामीभन्दा धेरै कमजोर देशले नेपाललाई पछि पार्दै विकास गरिरहेको स्थिति छ । हामी सधैँ एकै प्रकारका समस्याबाट ग्रसित भएर देशको समृद्धिको दिशामा पछि परेकामा कुनै सन्देह रहँदैन । तर, हाम्रो देश निर्माणप्रतिको प्रतिबद्धता यथार्थमा रूपान्तरित हुन सकेन । हामी नेपाली परिश्रमी नभएको होइन, परिश्रमको प्रतिफलको अपेक्षा अस्वाभाविक हिसाबले गर्दछौं । राज्य र सरकारबाट अत्यधिक चाहना राख्ने बानी छ । व्यक्ति केन्द्रित बन्दै आत्मरतिमा रमाउने प्रवृति भएकाले बिनापूर्वाग्रह गरिएका आलोचना पनि स्वीकार गर्दैनौं । स्वतन्त्र विचारलाई सम्मान गर्न सक्ने संस्कृतिको विकास थोरै मात्र पनि हुन सकेन । सबै विषयमा आरक्षित हुन चाहने प्रवृत्ति प्रायः सबैमा देखिन्छ । यसका अतिरिक्त अन्य निर्णायक कारण र चुनौतीको सामना हामीले गरिरहेका छौं । यी कारणले गर्दा देश र समाज पछि परेको छ । यसका पछाडिका मुख्य कारणको विश्लेषण यस आलेखमा गर्ने प्रयास गरिएको छ ।

लामो समयदेखि देश राजनीतिक अस्थिरताको स्थितिमा छ । संक्रमण कालको अन्त्यतर्फ हामी उन्मुख हुन सकेनौं । संवैधानिक प्रावधान राजनीतिक स्थिरताको पक्षमा छ, अत्यन्त बढी अवसरवादी, व्यक्तिवादी र आत्मकेन्द्रित राजनीतिले अभ्यस्तता प्राप्त गर्दै जानुले अस्थिरतालाई निरन्तरता दिइरहेको हो । यसका लागि केही समय पहिलेदेखिको राजनीतिक घटनाक्रमलाई अध्ययन गर्नु जरुरी हुन्छ । राणाहरूको शासनबाट मुक्ति मिलेपछि सरकारमा को रहने भन्ने विषयले उग्र रूप लिँदा नेपाली कांग्रेस नै एकै परिवारका सदस्य मातृका र बिपीको नेतृत्वमा दुई दल बन्न पुग्यो । २०१५ सालको संसदीय निर्वाचनमा १०९ स्थानमा विजयी भएको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले अपदस्थ गर्दा ७४ जनाले राजाको कदमको स्वागत गरेर सत्तालोलुपताको हदैसम्मको नीच व्यवहार प्रदर्शन गरे । लोकतन्त्रको विकल्पमा देशको विकास गर्ने सोचका राजा महेन्द्रले जनसमर्थन प्राप्त गर्न सकेनन् । निर्विकल्प, निर्दलीय र असंशोधनीय प्रावधानको संग्रहका रूपमा रहेको पञ्चायती संविधान पनि २०४६ सालमा अस्तित्वविहीन भयो ।

२०४८ सालको आमनिर्वाचनमा आरामदायी बहुमतमा रहेको नेकाको सरकार तीन वर्षभन्दा ज्यादा टिक्न सकेन । २०५१ सालमा अन्तरदलीय अस्वस्थ प्रतिस्पर्धालाई नेपाली कांग्रेसले नियन्त्रणमा राख्न नसक्दा एमालेको अल्पमतको सरकार गठन भयो । तर, ९ महिनाभन्दा बढी चल्न सकेन । २०५६ सालमा नेकाले भावी प्रधानमन्त्रीका रूपमा किसुनजीलाई अघि सारेर निर्वाचनमा जाँदा पाएको बहुमत शक्तिमा पुग्ने होडका कारण अल्प अवधिमा नै किसुनजीलाई हटाई अर्को सरकार बन्यो । यस अवधिमा सरकारमा पुग्ने मार्गको अवलम्बन गर्दै जनमत खासै नभएको सानो दल हत्या, हिंसा र आतंकको मार्ग अवलम्बन गरी समानान्तर सरकार गठन गर्न सफल भयो । संसद्वादी दलले शान्ति कायम गर्न यही हत्या र आतंकको जगमा खडा भएको दलसँग समझदारी गरी देशलाई गणतन्त्र, संघीय र धर्मनिरपेक्ष बनाइयो ।

आधा अवधि समाप्त हुँदा पनि शक्तिशाली सरकारले मतदाताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न सकेन ।

नेपालको वर्तमान संविधानले राजनीतिक अस्थिरतालाई कम गर्न केही महŒवपूर्ण प्रावधान राखेको छ । केही उदाहरण प्रस्तुत गर्दा यसले प्रधानमन्त्री निर्वाचित भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने, यस्तो प्रस्ताव राख्दाकै समयमा वैकल्पिक प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्नुपर्ने, अविश्वासको प्रस्ताव असफल भएमा अर्को एक वर्षसम्म पुनः अविश्वासको प्रस्ताव ल्याउन नपाइने, संसद् विघटन गर्न नपाइने आदि व्यवस्थाले सरकार पूरै पाँच वर्ष चलोस् भन्ने आशय संविधानको रहेको छ । यो संविधान जारी भएपछि बनेका सरकारले पनि सिद्धान्तलाई तिलाञ्जली दिँदै जे जस्ता गठबन्धन पनि गर्दै जाँदा अस्थिरताले चरम रूप लिन पुगेको हो । सत्तालिप्साको चरम रूप दलीय व्यवस्थामा अत्यन्त ज्यादा देखियो ।

२०५१ सालको निर्वाचनपश्चात् पूर्वपञ्चसँग मिलिजुली सरकार मात्र गठन गर्ने नभई उनीहरूकै नेतृत्वमा सरकारमा जान नेका र एमालेले प्रतिस्पर्धा गर्नु, नेकाले माओवादी केन्द्रसँग स्थानीय निर्वाचनमा तालमेल गरी आफ्ना माओवादीबाटै अन्यायमा परेका, मनोबल गिरेका कार्यकर्ताको थप तेजोबध गर्नु, एमालेले माओवादी केन्द्रसँग दल एकीकरण गर्न पुग्नु, साम्यवादी दलको ब्रान्डमा राजनीति गर्नेले दलमा दुईवटा अध्यक्षलाई नेतृत्व दिनु, नेकपाले आफूलाई लोकतन्त्रवादी, साम्यवादी, वामपन्थी, समृद्धिको वाहकका रूपमा प्रस्तुत गर्नु आदिजस्ता घटना क्रमको शृंखलाबाट नेपालको राजनीति अत्यन्त ज्यादा प्रदूषित बन्न पुगेको छ । राजनीति गर्नेका बीच आफ्नो भूमिकाको खोजी गर्दै दलबदल गरिरहने सिद्धान्तहीन यात्रामा उच्चपदस्थ एवं नेतृत्व तहमा रहेका राजनीतिज्ञका बीच पनि प्रतिस्पर्धा रहनुले राजनीतिप्रति सर्वसाधारण नागरिकको वितृष्णा बढ्दै गएको छ । यसमा कुनै पनि राजनीतिक दल गम्भीर भएको देखिँदैन ।

२०७४ सालको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री ओलीले अत्यन्त सस्ता र पूरा गर्न नसक्ने नारा र राष्ट्रवादी एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि उनको नेतृत्वलाई एकपटक परीक्षण गर्ने इच्छा नेपाली मतदाताले राखेका हुन् । करिब दुई तिहाइको सरकार बनेपछि सरकारवाट समृद्धिको चाहना राख्नु स्वाभाविकै हो । तर, आधा अवधि समाप्त हुँदा यो शक्तिशाली सरकारले पनि मतदाताको इच्छा र आकांक्षाको सम्बोधन गर्ने प्रयास गरेन । अहिले सत्तारूढ दलभित्रै सरकारमा जान लालायित केही आत्मकेन्द्रित व्यक्ति सरकार परिवर्तनको खेलमा लागिपरेका छन् । व्यक्ति परिवर्तन त्यसमा पनि यसअघि आफ्नो असलियत देखाई सकेकाले परिवर्तित सरकारको नेतृत्व लिने गरी दलभित्र अनन्य रोदन गर्नुको अर्थ नेपाली जनताले राम्ररी बुझेका छन् । यस दलीय कचिंगलसँग नेपाली जनताको कुनै चासो रहेको छैन ।

तर, राजनीतिमा शुद्धीकरण नआई देश समृद्धिको दिशामा अघि बढ्न सक्दैन त्यसैले सबै कुरा छाडी जनताले स्थिर सरकार दिएका हुन् । अबको प्राथमिकता देशको विकास र समृद्धि हुनुपर्ने चिन्तन नेपालीमा छ, जसलाई नेपालको राजनीतिले सम्मान गर्न सकेको देखिँदैन । राजनीतिलाई दोष दिइरहँदा उनीहरू पनि यही समाजका उपज हुन भन्ने पक्षलाई मनन गर्न सक्नुपर्छ । हामी जस्तो, उस्तै हाम्रो सरकार र राजनीतिक दल, यो चेतना नेपालीमा हुनु जरुरी छ । राजनीतिले देशलाई समृद्धिको दिशातर्फ उन्मुख गराउन नसक्दा संसदीय व्यवस्थाको आलोचना हुन थालेको छ । यी दलबाट निराश भएर जनताले वैकल्पिक राजनीतिक शक्तिको चाहना राखेकामा सन्देह रहँदैन । तर, विकल्प दिन तयार भएर जनतासमक्ष प्रस्तुत भएका दल नै अल्प अवधिमा तीन पटकसम्म फुटिसकेका छन् । यस अर्थमा पनि नेपालमा राजनीतिक अस्थिरताले निरन्तरता प्राप्त गर्ने सम्भावना बढेको छ ।

यो नै देशका लागि ठूलो दुर्भाग्य हो । यसका अतिरिक्त सर्वत्र राजनीतिकरण भइरहेको छ । अपराधीलाई राजनीतिक संरक्षण प्रदान गर्ने प्रतिस्पर्धा भइरहेको छ । राजनीतिक दलमा चिन्तन, शैली र चरित्रमा सुधार नगर्ने हो भने दलीय व्यवस्था नै संकटमा पर्न सक्छ ।

सिद्धान्तहीन यात्रा र राजनीतिज्ञबीच अस्वस्थ प्रतिस्पर्धाले राजनीतिप्रति सर्वसाधारण नागरिकको वितृष्णा बढ्दै गएको छ ।

देशले उन्नति गर्न अत्यावश्यक सर्त हो । देश भक्ति, देशवासीमा राष्ट्रप्रतिको भक्तिभाव अन्तस्करणबाट प्रस्फुटन हुनुपर्छ । देश विकासका लागि समर्पित हुने भावनाको जागरण सबैमा हुनुपर्छ । १९६० पछि दक्षिण कोरिया, दोस्रो विश्व युद्धपछि जापान र आर्थिक मन्दीपश्चात् संयुक्त राज्य अमेरिकामा अत्यन्त ठूलो देशभक्तिको भावनाको विकास भयो । यी सबै देशले उन्नति गर्दै गए । नेपालमा राष्ट्रप्रेम प्राकृतिक कुरामा बढी छ । कुमारी, राष्ट्रिय झन्डा, भगवान् बुद्धको जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा, केही समय पहिलेसम्म विश्वको एक मात्र हिन्दु राष्ट्र हाम्रा गौरवका विषय हुन् ।

यसैलाई राष्ट्रप्रेमका रूपमा सीमित गर्दै रहेको स्थिति छ । राष्ट्रप्रेम बृहत् हुन्छ । हामी राष्ट्रिय उत्थानका विषयमा कहिल्यै गम्भीर भएनौं । राजनीतिक अस्तव्यस्तता छ, प्रणालीविहीन शासन गर्न अभ्यस्ततामा रमाएकाले पनि अस्तव्यस्तता सर्वत्र बढेको छ । विश्व बैंकले १ सय ८९ देशको अध्ययन गरी प्रतिव्यक्ति आयका हिसाबले १ सय ७० स्थानमा राखेको छ । १ सय ७५ देशको अध्ययन गरी प्रकाशित भएको प्रतिवेदनमा नेपाल सबैभन्दा भ्रष्ट राष्ट्रको १ सय १६ मा रहेको छ । १ सय ८७ देशको अध्ययन गर्दा मानव विकास सूचकांकको क्रम १ सय ४५ देखाएको छ । बेरोजगार जनसंख्याको समस्या अझै खराब छ, जनसंख्याको ११.४ प्रतिशत पूर्ण रूपमा वेरोजगार छन् । १५ वर्षभन्दा माथिको जनशक्ति २०.७४ मिलियन छ । ९ लाख ८० हजार जनसंख्याले रोजगारीको अवसर प्राप्त गर्न सकेका छैनन् ।

सामाजिक आर्थिक विकासको असन्तुलन अत्यन्त ज्यादा छ, स्वास्थ्य, खाद्य, रोजगारी, उपभोग, बचत, यातायात, आवास, पोसाक, मनोरञ्जन सुविधा, मानवीय स्वतन्त्रता, सामाजिक सुरक्षा, जनसंख्याको चाप र असन्तुलित वितरण, राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान, उत्पादन र उत्पादकत्वको अवस्था, कृषिलगायत ओद्योगिक ऋणको सुविधा, बैंकिङ सुविधा, सडकको अवस्था, साक्षरता प्रतिशत, विद्यार्थी भर्ना प्रतिशत आदिका हिसाबले असहज अवस्था रहेको छ । सबै प्रकारका विकास सहर बजारमा मात्र केन्द्रित गरिँदा भूगोलको ठूलो हिस्सा विकास र सुविधाबाट पछि परेको छ ।

विकासको मापन निश्चित कालखण्डमा त्यस क्षेत्रमा भएको प्रगतिका हिसाबले नभई समग्र देशको विकासको गति, अनुपात र राष्ट्रले गरेको व्यवहार एवं सामाजिक न्यायका आधारमा खोजिनुपर्छ । यस हिसाबले हेर्दा नेपालमा शक्तिको पहुँचमा रहेकाहरूको क्षेत्रमा मात्र बढी स्रोत साधन विनियोजन गरिएको अवस्था छ । यसले गर्दा विकासमा देखिने असन्तुलन अझ बढ्दै गएको छ । यी सबै यस्ता कारणहरू हुन्, जसका कारण देश उन्नतिको मार्गमा अघि बढ्न सकेको छैन, देश यो अवस्थामा पुग्नुको पछाडि देशको राजनीति नै विशेष जिम्मेवार हुन्छ । जबसम्म राजनीतिमा सुधार हुन सक्दैन, राष्ट्रप्रेमले ओतप्रोत भएका, दूरदृष्टिका आधारमा देशलाई दिशानिर्देश गर्न सक्ने नेतृत्व राष्ट्रले पाउँदैन, तबसम्म यो अवस्थाले निरन्तरता पाइरहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान