आ–आफ्नै रणनीतिमा ओली र दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद बढ्दै गइरहेकै बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै रणनीतिमा लागेका छन् ।

विवाद समाधानका लागि छलफल हुनुपर्नेमा ओली र दाहालबीच संवाद हुन सकिरहेको छैन । गत मंगलबारदेखि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक ‘कहिले बस्ने ?’ भन्ने विषयमा ओली र दाहालले छलफल गरेका छैनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यक्षद्वयको छलफलमा स्थायी कमिटी बैठक मिति तोकिने बताउ“छन । दुबैले छिट्टै छलफल गरेर विवाद समाधानका लागि निकास दिने उनको विश्वास छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार ओली र दाहाल आ–आफ्नै रणनीतिमा लागेका छन् । नेकपामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद सुरु भएको हो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेताले ओलीको राजीनामा माग गर्दै आएका छन् । तर, ओलीले कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन् ।

‘दुबै अध्यक्ष विवाद समाधानका लागि संवाद गर्नुपर्नेमा आ–आफ्नै रणनीति निर्माणमा लागेका छन्, आफ्नो पक्षमा बहुमत जुटाउने कसर भइरहेको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘आफ्नो अडानबाट एक कदम पछाडि फर्केर सहमति खोज्नुको विकल्प छैन ।’

गत १० असारदेखि जारी स्थायी कमिटी बैठकले पनि कुनै निकास दिन सकेको छैन । मंगलबारदेखि बैठक नै अनिश्चित बनेको छ । बैठक स्थगित गरिए पनि निकास खोज्न शीर्षनेताले चासै नदिएको आरोपसमेत लाग्न थालेको छ ।

केन्द्रीय कमिटी बैठक माग
यसैबीच, नेकपाका १ सय ५२ केद्रीय सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् । नेकपा विवाद पेचिलो बन्दै गइरहेकै बेला केन्द्रीय कमिटी बैठक बस्नुपर्ने माग गरेका उनीहरूले पार्टी महासचिव विष्णु पौडेललाई पत्र बुझाउन खोजे पनि कार्यालयमा नभएकाले कास श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।

स्थायी कमिटीले पार्टीभित्र देखापरेका समस्या, विवाद निकास दिन नसकेको भन्दै केन्द्रीय कमिटीबाटै छलफल हुनुपर्ने अडान उनीहरूको छ । नेकपा विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटी बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन १ सय १० सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।

नेकपा केन्द्रीय कमिटी बैठक गत १५ देखि १९ माघमा बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटी बैठक ६–६ महिनामा बस्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित