पाेखरामा लेकसाइडका होटल खुले

पोखरा । नेपालकै प्रमुख पर्यटकीयस्थल लेकसाइडमा बिहीबारदेखि विस्तारै चहलपहल सुरु भएको छ । लकडाउन अन्त्यसहित सरकारले १५ साउनदेखि पर्यटन क्षेत्र खुला गर्ने निर्णयसँगै यहाँका होटल तथा रेष्टुँरा विस्तारै खुल्न थालेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) प्रभाव कारण लामो समय बन्द रहेका पोखराका होटल रेष्टुराँ आवश्यक मापदण्ड अनाएर आंशिक रुपमा खुल्न थालेका हुन् । १२० दिने लामो लकडाउनबीच विभिन्न मोडालिटी अपनाएर लकडाउन खुकुलो पार्दै आएपनि अन्य ठूला व्यवसायसँगै होटल तथा रेष्टुरेन्ट पनि पहिले ठप्प थिए । कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा कारोबारमा बढोत्तरी हुन पर्यटकीय सिजन नै कुर्नुपर्ने व्यवसायीको भनाइ छ । साना होटल खुले पनि लेकसाइडका ठूला होटलहरु खासै संचालनमा छैनन् । होटल ग्राण्ड, सांग्रिला, फिस्टेल, बाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरु पर्ख र हेरकै अवस्थामा छन् ।

पश्चिमाञ्चल होटल संघले बिहीबार यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको जनाएको छ ।
संघ अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउँछन् । उनले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खुल्न थालेको बताए । लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापन लगायत कामलाई व्यवसायीले अघि बढाएको तुलाचनले बताए । असोज लागेपछि मात्रै आवागमन बढ्ने उनको अपेक्षा छ । त्यस बेलासम्म होटेल सञ्चालकले कर्मचारीका लागि होटेल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उनको बताए ।

होटल ल्याण्डमार्कका संचालक राजु पाण्डेले आफूहरुले आंशिकरुपमा कर्मचारी राखेर संचालनमा ल्याएको बताए । यहाँको हङ्ग्री आई रेष्टुरेन्टको लागि आवश्यक कुक, वेटरसहित होटलमा क्लीनर, हाउसकिपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । पहिले कुल १ सय ४ जना कर्मचारीले काम गर्थे । संचालक पाण्डेले सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको बताए ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अहिलेकै अवस्थामा होटल खोलेर संक्रमण निम्त्याउन नहुने बताउँछन् । पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सरकारले भने जसरी अहिले नै होटल व्यवसाय खोलेर बस्न अधिकांश होटल तथा रेष्टुरेन्टहरु तयारी नरहेको जिकिर गर्दछन् ।

होटल बाराही संचालक विप्लव पौडेलले पर्यटकीय सिजन सुरु नभइञ्जेल बाराही होटल नखुल्ने बताए । उनले आफूहरु होटलमा रुमहरुको स्तरोन्नतिमा लागेको जानकारी दिँदै सेप्टेम्बरतिरमात्र खोल्न सकिने बताउँछन् । उनी संचालक रहेको सराङकोट माउण्टेन लज भने बिहीबारदेखि नै खुलेको छ ।

त्यस्तै, स्वीस इन्टरनेशनल होटल भने यसअघि नै आंशिकरुपमा संचालनमा छ । विदेशबाट फर्केकाहरुलाई राख्न यहाँ क्वारेन्टाइनको रुपमा प्रयोग गरियो । अहिले क्वारेन्टाइन बस्नेहरु समेत घटेका छन् । मात्र १ कोठा प्रयोग भएको छ । यसरी आफूहरुले पहिलेदेखि नै एकतिहाइ कर्मचारी राखेर संचालनमा ल्याइएको संचालक भरत पहारीले बताए ।

कोरोना कारण अहिले हरेक व्यवसायमा मन्दी नै लागेको छ । त्यसमा पनि यो अफिसिजनको समयमा व्यवसाय सञ्चालन गर्नु अर्काे ठूलो चुनौती रहेको व्यवसायहरुको गुनासो छ । लकडाउनको बेलामा धेरै कर्मचारीहरु गाउँघर गएको अवस्था छ ।

अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने होटल माउण्ट कैलाशका संचालक नरेश भट्टराईले बताए । उनले आफूहरुले आवश्यक सम्पूर्ण मापदण्ड अपनाएर होटल तथा रेष्टुराँ संचालनमा ल्याएको बताए । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धनलगायतका विषयमा केन्द्रित रहनुपर्ने उनी बताउँछन् ।

पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् । यस्तै, पोखराका होटल तथा रेष्टुराँ व्यवसायमा व्यवसायीको लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको पाइन्छ । यहाँ १२ हजार २ सय ९८ ले रोजगारी पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता