काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावकैबीच १३ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएको छ । विद्युत् विकास विभागले चैत यता ३४० दशमलव ७९ मेगावाटका आयोजनालाई निर्माण अनुमति दिएको हो ।
विद्युत् विकास विभागले सरकारका बास्केटमा रहेका र निजी क्षेत्रले अध्ययन गरेका आयोजनाको निर्माण अनुमति दिएको जनाएको छ । निर्माण अनुमति लिनेमा २१ दशमलव ३ मेगावाटको ठूलोखोला हाइड्रोपावर, ७ मेगावाटको चेपेखोला, १४ दशमलव ५ मेगावाटको माथिल्लो इर्खुवा, ९७ दशमलव २ मेगावाटको इसुवा खोला हाइड्रोपावर रहेको जनाएको छ ।
त्यस्तै, १७ दशमलव ८५ मेगावाटको अपर मौवा, २४ मेगावाटको माधमे खोला, २४ मेगावाटको तल्लो बलेफी, १० मेगावाटको मध्ये सुपर दरौदी, ४ दशमलव ९९ मेगावाटको रौजे खोला, ६२ मेगावाटको भोटेकोसी–५, २५ मेगावाटको सेती खोला, ३२ मेगावाटको करुवा सेती र ४ दशमलव ९५ मेगावाटको अपर पिलुवा जलविद्युत् आयोजनाले आयोजना निर्माणको अनुमति पाएका छन् ।
९७ दशमलव २ मेगावाटको इसुवा खोला जलविद्युत् आयोजनाको अनुमानित लागत १३ अर्ब ५७ करोड ११ लाख रुपैयाँबराबर रहेको छ । आयोजना संखुवासभा जिल्लामा बन्ने भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब १० करोड २९ लाख हुने अनुमान गरिएको छ । निजी क्षेत्रले निर्माण गर्न लागेको यो सबैभन्दा ठूलो अद्र्धजलाशय आयोजना हो । यस आयोजनाबाट वार्षिक ६ सय ४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आयोजना निर्माण हुन लागेको ६२ मेगावाटको भोटेकोसी–५ जलविद्युत् आयोजनाबाट ४ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ३ सय ६२ दशमलव ८० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् ४ किलोमिटर टाढाको २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । त्यस्तै ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाबाट २०७९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ५ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
साढे १४ मेगावाटको माथिल्लो इर्खुवा खोला जलविद्युत् आयोजना भोजपुरको इर्खुवा खोलामा आरती पावर कम्पनीले अघि बढाएको छ । आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत् उत्पादन हुने प्रस्ताव गरिएको छ । आयोजनाबाट वार्षिक ९० दशमलव ५८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् ८ किलोमिटर दूरीमा रहेको १३२ केभी प्रसारण लाइनमार्फत शितलपाटी सबस्टेसनमा जाडिने छ ।
२५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको अनुमानित लागत ५ अर्ब रहेको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत् खरिदसम्बन्धी सम्झौता भइसकेको छ । विभागले हालसम्म ६ हजार ९ सय ७८ मेगावाटका १ सय ९८ जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिइसकेको छ भने १ मेगावाट भन्दा ठूला १५ हजार ७ सय ९५ मेगावाटका २ सय ४० वटा आयोजना अध्ययनको क्रममा रहेका छन् । त्यस्तै, १० मेगावाट भन्दा बढीका १५ वटा आयोजनासमेत अध्ययनका क्रममा रहेका छन् ।