जुम्ला । रुकुम पश्चिमका ४ जना बालक र २ जान किशोर ६ दिनदेखि अलपत्र परेका छन् । ठेकेदारले हुम्लाको सिमिकोटमा काम दिने भन्दै हिँडेका उनीहरु अहिले जुम्लामा अलपत्र परेका हुन् ।
रुकुम पश्चिमको चौर जहारी नगरपािलका वडा नम्वर ३ स्यालखोला ठेगाना बताउने उनीहरु ठेकेदारको ललाइफकाईमा घरबाट हिँडेको बताउँछन् । नदीमा बल्छी खेल्दै गर्दा ठेकेदारसँग भेट भएपछि हुम्लाको सिमिकोटमा जालीको काम गर्ने भन्दै घरबाट हिँडेको किशोर गोपाल नेपालीले बताए ।
‘रुकुमपश्मिबाट ३ दिन बसको यात्रा र तीन दिन पैदलयात्रा हिँडेपछि मुगु र हुम्लाको सिमानामा पुगियो, ठेकेदारले जाँडरक्सि पिएर बालकहरुलाई पिट्ने, खाना नदिने गर्यो, हुम्ला पुगेपछि मार्ने धम्की दियो, त्यसपछि भोगेर जुम्ला पुगियो,’ उनले भने । आफ्नो समुहमा तीन जना टुहुरा बालक समेत भएको उनले जानकारी दिए ।
भागेर जुम्ला र मुगुको सिमाना भुलभुलेमा चाउचाउ र चिउराको भरमा रात काटिएको बालक सुनिल नेपालीले बताए । बर्दिया घर बताउने ठेकेदारको नाम र फोन नम्वर समेत आफुहरुसँग नभएको उनले बताए । सोमबार बेलुका ८ बजे जिल्ला समन्वय समिति जुम्लाको भवन अगाडी बसिरहेका उनीहरु युवा कृष्ण डाँगीले होटलमा बस्ने बन्दोबस्त मिलाएको अर्का किशोर राजु नेपालीले बताए ।
बेलुकाको खाना खाए पनि अहिले खाने नखाने टुँगो नभएको उनले बताए । ‘घरमा फोन भइरहेपनि पैसा उपलब्ध हुन सकिरहेको छैन, कसरी बाँच्ने भन्ने चिन्ता छ’ उनले भने । अब जसरी पनि घर पुग्ने चाहना रहेको उनीहरु बताउँछन् ।






