न्युयोर्क । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्नसक्ने जनाएको छ ।अमेरिकी प्रविधि कम्पनी एपलले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा बिक्री प्रभावित भएको र विश्वभरी आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने बताएको छ ।
कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्वपूर्ण अमेरिकी कम्पनी हो । यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो । तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण भने दिएको छैन ।
‘मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौं,’ एपलले एउटा विज्ञप्तिमा भनेको छ । उसकाअनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ ।
चीनमा रहेका अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एपलले जनाएको छ । आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित भए पनि ती पुनः खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एपलको भनाइ छ ।
‘चीनमा भएका हाम्रा सबै स्टोर र धेरै साझेदार स्टोरहरू बन्द छन्,’ एपलले भनेको छ, ‘खुलेका स्टोर पनि कम समय सञ्चालन हुन्छन् र आउने ग्राहक पनि कम छन् । हामी बिस्तारै आफ्ना बिक्रीकक्ष खोलिरहेका छौं र यथाशक्य निरन्तर तथा सुरक्षित रूपमा त्यसो गरिरहन्छौँ ।’
विश्लेषकहरूका अनुसार नयाँ कोरोनाभाइरसको संक्रमण फैलिएकाले चीनमा यो त्रैमासिकमा स्मार्टफोनको माग घट्न सक्छ । चीन हातमा बोकिने त्यस्ता साना विद्युतीय उपकरणको सबैभन्दा ठूलो बजार हो । भाइरसका कारण सवारीसाधन उद्योग पनि प्रभावित भएको छ ।
गत साता ठूला उपकरण बनाउने कम्पनी जेसीबीले यूकेमा आफ्नो उत्पादन घटाउने घोषणा गरेको थियो । चीनबाट आउने सामग्रीको अभाव भएकाले त्यसको गर्नुपरेको उसको भनाइ छ । विगत १३ दिनयया हुबेई प्रान्त बाहिर नयाँ संक्रमण भएका बिरामीको संख्या घटिरहेको छ ।
गत साता सोमवार हुबेई बाहिर ४ सय ५० नयाँ बिरामी फेला परेकोमा यो सोमवार त्यो संख्या ह्वात्तै घटेर ११५ पुगेको छ । बिस्तारै उद्योग र पसलहरू सामान्य अवस्थामा फर्किए भने पनि एपलको चेतावनीले कोरोनाभाइरसका कारण चीनको अर्थतन्त्र नराम्ररी प्रभावित हुने संकेत गर्छ ।