क्रिकेटरले यसै साता पारिश्रमिक पाउन सक्ने

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले रोकिएको पारिश्रमिक (तलब) यसै साता पाउन सक्ने सम्भावना बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) अघिल्लो साता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई रोकिएको तलब पठाइदिन आग्रह गर्दै सबै खेलाडीको हस्ताक्षर पठाएपछि खेलाडीहरूले यसै साता पारिश्रमिक पाउने सम्भावना बढेको हो ।

खेलाडीहरूले सन् २०१९ को सुरुवातदेखि पारिश्रमिक पाएका छैनन् । ‘आईसीसीले २०१९ देखिको तलब दिन बाँकी छ । आईसीसीले खेलाडीको हस्ताक्षर गरेर पठाउन निर्देशन दिएपछि हामीले अघिल्लो साता सबै खेलाडीको नामावली पठाएका छौं । यसै साता पारिश्रमिक निकासा हुन्छ होला,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने । आईसीसीले बनाएको तीन ग्रेडअनुसार पैसा पठाउन सक्नेछ ।

ग्रेडमा कुनकुन खेलाडी रहेको भन्ने उताबाट नआइकन भन्न सकिने अवस्था छैन । आईसीसीले पठाएपछि मात्र को खेलाडी कुन ग्रेडमा भन्ने थाहा हुनेछ ।’ क्यानले हरेक ग्रेडमा १० हजार वृद्धि गरेर पठाउन २२ खेलाडी र टेक्निकल एनालिस्ट रमन शिवाकोटीको नाम पारिश्रमिकका लागि पठाएको सचिव प्याकुरेलले बताए । यसअघि आइसीसीले ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५ हजार, ‘बी’ ले २५ हजार र ‘सी’ ले १५ हजार रुपैयाँ दिएको थियो ।

क्यान आईसीसीबाट पूर्ण रूपमा फुकुवा भइसकेको छैन । २०७३ वैशाख १३ मा आईसीसीले क्यानमाथि राजनीतिक हस्तक्षेप, दुई समान्तर समिति, निष्पक्ष चुनाव हुन नसकेकोलगायत कारण देखाउँदै लगाएको प्रतिबन्ध गत वर्ष असोज ११ मा नयाँ समिति आएसँगै ससर्त रूपमा असोज २७ मा फुकुवा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब