कोरोना भाइरस संक्रमण पुष्टि भएका सबै बिरामीमा लक्षण देखिँदैन । जसमा लक्षण देखिन्छ, उपचारका लागि जाने भनेको फिजिसियनकहाँ हो । कोरोनाले श्वासप्रश्वासमा अलि धेरै असर गर्छ । बिरामीहरू अस्पताल आउँदा सास फेर्न गाह्रो भई आत्तिएर आउनुहुन्छ । बिरामीलाई हेर्ने भनेको फिजिसियन, क्रिटिकल केयरका चिकित्सक वा फोक्सो रोग विशेषज्ञहरू (पल्मोनोलोजिस्ट)ले हो ।
कोरोना संक्रमितको उपचारका लागि औषधि चलाउने कुराहरू बेला बेला परिवर्तन भइरहन्छ । तर, अझै पनि औषधि प्रयोग सन्दर्भमा राम्रो अनुसन्धान हुन सकेको छैन । शरीरमा अक्सिजनको मात्रा गाह्रो भएका, सास फेर्न गाह्रो भएका र सिटी स्क्यान गर्दा छातीमा निमोनियाको लक्षण देखिएका बिरामीका लागि रेम्डेसिभिर औषधि चलाउन सकिन्छ ।
अफ्रिकामा इबोलाको उपचारमा रेम्डेसिभिर औषधि प्रयोग भएको थियो । यो भाइरल मेडिसिन हो । रेम्डेसिभिर भाइरल रोगमा प्रयोग भएको औषधि हो । त्यसैले पनि कोरोनाका लागि काम गर्छ भनेर आँकलन गरिएको हो ।
श्वासप्रश्वासमा अप्ठ्यारो भएकै समयमा बिरामीमा यो औषधि प्रयोग गरियो भने यसले राम्रोसँग काम गर्छ । तर, सयमा जनामा सबैलाई नै राम्रो हुन्छ भन्ने पनि हुँदैन ।
यस्तै, कोरोनाको संक्रमण जटिल अवस्थामा पुगेको छ भने फोक्सो पूर्ण रूपमा खराब हुन्छ । जसलाई एआरडिएस भनिन्छ । यस्तो अवस्थामा पुगेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ, बिरामीको मृत्यु पनि हुन सक्छ ।
श्वासप्रश्वासमा समस्या भएमा बिरामीलाई रेम्डेसिभिर, स्टेरवाइड र लो मोलिक्युलर वेट हेपारिन औषधि प्रयोग गर्न सकिन्छ । श्वासप्रश्वासमा जटिलता भएकाहरूलाई संक्रमणमुक्त भएकाहरूले कन्भेसेलेन्ट प्लाज्मा थेरापी पनि दिन सक्छन् । उहाँहरूको रगत निकालेर दिँदा एन्टिबडीको मात्रा बिरामीको शरीरमा बढ्छ र रोगसँग लड्ने क्षमता मजबुत हुन सक्छ । तर, प्लाज्मा दिँदैमा, रेम्डेसिभिर औषधि दिँदैमा बिरामी शतप्रतिशत निको हुन्छ भन्ने हुँदैन । तर, निको भएका तथ्यहरू पनि छन् ।
स्वाद नथाहा पाउने, पखाला लाग्ने, टाउको दुख्ने, घाँटी बस्ने, जिउ दुख्ने जस्ता लक्षण भएका बिरामी अस्पताल आउनुहुन्छ । तसर्थ, व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम गर्नुपर्छ, हेलचेक््रयाइँ गर्नुहुँदैन । मास्कको समुचित प्रयोग गर्नुपर्छ ।
डा. रेग्मी, जनरल फिजिसियन तथा वरिष्ठ बाथरोग विशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।






