आत्महत्याको अन्तर्य : कुरा सुनौ, कुरा सुनाऔं

प्रत्येक मानिसको जीवन जिउँने कला आ–आफ्नै छ, जीवन र जगतप्रतिको दृष्टिकोण बेग्लाबेग्लै छ । हरेकको आरोह–अवरोहको हिसाब–कितापको अर्थ पृथक–पृथक भए तापनि दीर्घजीवनप्रतिको चिरञ्जीवीपन अवश्यम्भावी छ । जटिलभन्दा जटिल समस्याको समाधान गर्ने सामथ्र्य र साहसको कथा अतुलनीय छ, तर समस्याको सामना गर्नु पूर्व विक्षिप्तता र निरिहता प्रर्दशन गरी आत्मघात गर्ने प्रवृत्ति निन्दनीय छ, जसको निराकरण गौतम बुद्धद्वारा प्रतिपादित ‘कुरा सुन्ने प्रणाली’ को आत्मसात्मा छ ।

आत्महत्या मानसिक विकारबाट उत्पन्न अकल्पनीय, असामयिक र अस्वाभाविक मृत्यु हो । स्वयंले स्वयंकै हत्या गर्नु प्राकृतिक नियम विपरितको दुष्कर्म भएकोले यसलाई मानसिक पराकाष्टाको वियोगान्त रूप मानिन्छ । यसको नकारात्मक परिणामबाट आत्मीयजनले जीवनपर्यन्त भोग्नु पर्ने असह्य तोड र भावनात्मक चोटको मूल्य मार्मिक रूपले दयनीय र पीडादायक हुन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले कोभिड–१९ बाट विश्वका आधाभन्दा बढी युवावर्ग अवसाद (डिप्रेसन) र चिन्ताको सिकार भएको र एक तिहाईभन्दा बढीमा व्याप्त अनिश्चित भविष्यका खातिर तत्काल ठोस कदम नउठाए प्रतिकूल खतराको संकेत गर्दछ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनले कोरोना संकटले मानव बेचबिखनको घटनामा अत्यधिक वृद्धि भई आत्महत्याजन्य अपराध बढ्ने दर्शाउँछ । वास्तवमा १९औँ र २०औँ शताब्दीमा क्रमशः प्लेग र क्षयरोगको महाव्याधि तथा २१औँ शताब्दीको सुरुमै इन्फलुयन्जा र सासले आत्महत्याको दर बढाएको सन्र्दभमा कोरोना महामारीले समेत मानसिक रोगी र आत्महत्याको संख्या नराम्रोसँग बढाउने विश्व स्वस्थ्य संगठनको प्रक्षेपण छ । करिब १५–२९ वर्ष उमेर समूहका युवाको मृत्युको दोस्रो कारण आत्महत्या भएकोले प्रति चालिस सेकेन्डमा एकको आत्महत्या हुन्छ भने एक वयस्कको आत्महत्याले थप बीस आत्महत्याको प्रयासलाई प्रश्रय दिन्छ ।

आत्महत्या गर्ने सम्पूर्ण मानिस मानसिक रोगी हुँदैनन्, तर यसको औसत दैनिक दर चौधबाट बढेर उन्नाइससम्म पुग्नुमा करिब अस्सी प्रतिशत कारण आर्थिक दुरवस्था मानिन्छ

आत्महत्यामा नेपाल विश्वमा सातौँ र महिलातर्फ तेस्रो स्थानमा छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले युवा र प्रौढमा क्रमशः ८.७ र १०.९ प्रतिशतले आफ्नाे जीवन आफैले समाप्त गर्ने सोच राखेको तथा १२.९ प्रतिशतमा मानसिक असन्तुलन रहेको देखाउँछ । आत्महत्या गर्ने सम्पूर्ण मानिस मानसिक रोगी हुँदैनन्, तर यसको औसत दैनिक दर चौधबाट बढेर उन्नाइससम्म पुग्नुमा करिब अस्सी प्रतिशत कारण आर्थिक दुरवस्था मानिन्छ । तदापि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८५(१) अनुसार ‘‘कसैले कसैलाई आत्महत्या गर्न, दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’’ अन्यथा कसूरदारलाई ‘‘पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।’’

विगतमा सती प्रथा, सन्यास मरण र जल/अग्नि समाधिद्वारा आत्मघात हुन्थ्यो भने हाल डुबेर, झुण्डिएर, विष खाएर, हाम फालेर, आगो/करेन्ट लगाएर र हातहतियारबाट आत्महत्या हुन्छ । व्यक्तिगतभन्दा समूहगत स्वार्थ हावी भएमा सामूहिक वा पारिवारिक आत्महत्या समेत हुन्छ । वि.सं. १९९८ मा सामाजिक अधिकार र सांस्कृतिक सुधारको माग राख्दै संघर्षरत ६७ योद्धा महिलाहरूले योगमायाको नेतृत्वमा अरुण नदीमा मृत्युवरण गरेको इतिहास छ भने ऋणको बोझले पिरोल्दा त्रिसुली नदीमा विभत्य पारिवारिक आत्मघात भएको पछिल्लो उदाहरण छ । आत्महत्या महापाप भएकोले पुनर्जन्म नसुध्रिने सनातनी धारणा छ भने मृत्युपछिको अगतिका कारण काजक्रिया नबार्न र मृत शरीरलाई छुँदा मृतात्माले मोक्ष नपाउने कुप्रथा छ । यद्यपि केही पश्चिमा देशहरूमा दीर्घरोगको प्रताडनाबाट मुक्तिका लागि मृत्यु रोज्न पाउने कानुन छ ।

सामाजिक सञ्जालको माध्यमद्वारा प्रत्यक्ष रूपमा देखाएरै आत्महत्या भएका छन्, जसलाई ‘सुसाइड् नोट’ को आधुनिक रूप मानिन्छ । फेसबुकको मुख्यालयले आत्महत्याको अग्रिम सूचनाको पोष्ट, स्टेट्स, कमेन्ट, भिडियो र म्यासेन्जरमा बोल्ने शैलीको सूक्ष्म विश्लेषण गरी संकेत देखिँने बित्तिकै तत्काल प्रयोगकर्ताको नाम–नामेसी सम्बन्धित प्रहरीको साइबर ब्युरो र साथी समूहलाई दिन्छ । तर कार्यान्वय प्रक्रियामा अभाव, प्रविधिको पहँुचमा बाधा र नेपाली भाषाका कारण सूचना प्राप्तिमा विलम्ब भई घटना घटेपछि मात्र प्रहरीले जानकारी पाएको देखिन्छ । यद्यपि बंगलादेशमा पूर्व जानकारीसहितको आत्महत्या प्रवृत्तिको अध्ययन प्रतिवेदनले ‘लाइभ स्टिमिङ’ गरी मर्ने सबै पैतिस वर्षभन्दा कम उमेरको भएको र महिलाको तुलनामा पुरुषको संख्या चार गुणा बढी भएको तथ्य ग्लोबल मेन्टल हेल्थमा प्रकाशित छ ।

आत्महत्याको मुचुल्का, मृत्युपत्रको परिक्षण, लासको सनाखत, पोष्टमार्टम र फरेन्सिक नतिजामा लाग्ने प्रक्रियागत समयले आत्मीयजनमा अतिरिक्त यातना थपिन्छ । तसर्थ कतिपय घटना कलङ्क, लाञ्छना र बेइज्जतीका कारण प्रहरी समक्ष पुग्दैनन् । आत्महत्याको मनोदशा चित्रण वा प्रहरी अनुसन्धानमा मृत्युको वास्तविक समयको महत्व अत्यधिक भए तापनि प्राणको प्रायोगिकताको अध्ययनमा योगशास्त्र र अध्यात्म विज्ञानको उपयोगिता अकाट्य छ । यद्यपि प्राण निस्कनुअघि पुरुषको लिंगबाट वीर्य र स्त्रीको योनीबाट डिम्ब निस्कने वैज्ञानिक आधार कायमै छ ।

आत्महत्या तनाव नसहने अन्तिम विकल्पको उपज भएकोले योजनाबद्ध, आवेश वा विनाकारण सम्पन्न हुन्छ । आफ्नाे जीवन समाप्त गर्ने अधिकार आफैसँग समेत नहुने भए तापनि अशान्त मनस्थिति र चरम हीनताबोधले ग्रसित मानिस आफ्नै जीवन आफै समाप्त गर्न उद्यत हुन्छ । यसको संक्रामक प्रवृत्तिले असाध्यै संवेदनशील र ज्यादै अन्तर्मुखी मानिसलाई आर्कषण गर्ने सम्भावना प्रबल रहन्छ, जसलाई प्रसिद्ध व्यक्ति वा आफन्तकाे मृत्युले थप उत्तेजित गर्दछ । यसको कारक तत्वहरुमा एक्लोपन, बेचैनी, निराशा, उदासीनता, डर, कलह, विछोड, धोका, दबाब, असन्तुष्टि, पश्चात्ताप, महत्वका‌ंक्षा, व्यक्तिगत चियोचर्चो, प्रतिशोध, आत्मसम्मानमा ठेस, गोप्य तस्बिर वा भिडियोको प्रर्दशन आदि छन् ।

सन् १८९७ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले ‘सुइसाइडे’ पुस्तकमार्फत व्यक्तिगतभन्दा सामाजिक संरचनाले आत्महत्या हुने प्रमाणित गरी न्यूनीकरण र रोकथाममा मनोचिकित्सकीय र मनोसामाजिक धारणा दिएका छन्, जसमाथि कैयन मनोविदहरूले मनोवैज्ञानिक अनुसन्धान गरेका छन् । यसर्थ मानसिक समस्यालाई समाधान नगर्दा अवसाद जन्मिन्छ, जुन उग्र भएमा आत्महत्यासम्मको सोच पलाउँछ । आत्महत्याको प्रयास दोहरिने सम्भावना उच्च भएकोले यसको असफल प्रयास गरेका, उक्त सोच राखेका वा भविष्यमा त्यस्तो सोच राख्न सक्नेको यथासक्य छिटो मनोचिकित्सकीय उपचार भएमा धेरैभन्दा धेरै आत्महत्या नियन्त्रण गर्न सकिन्छ । तसर्थ आत्महत्याको संख्या गणना गर्नुभन्दा आत्महत्या प्रयासका घटनाहरूलाई गम्भीरताका साथ लिन अत्यावश्यक छ ।

आफ्नाे जीवन समाप्त गर्ने अधिकार आफैसँग समेत नहुने भए तापनि अशान्त मनस्थिति र चरम हीनताबोधले ग्रसित मानिस आफ्नै जीवन आफै समाप्त गर्न उद्यत हुन्छ । यसको संक्रामक प्रवृत्तिले असाध्यै संवेदनशील र ज्यादै अन्तर्मुखी मानिसलाई आर्कषण गर्ने सम्भावना प्रबल रहन्छ, जसलाई प्रसिद्ध व्यक्ति वा आफन्तकाे मृत्युले थप उत्तेजित गर्दछ

विगतमा गलत लाग्ने तर्क महाव्याधिको समयमा उचित लाग्न सक्ने भएकोले आत्महत्याको खतरा रोक्न काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायद्वारा महिला, किशोरी, युवायुवती, अल्पसंख्यक र सीमान्तकृतलाई लक्षित गरी भेदभाव, यौनशोषण, दुव्र्यवहार र हिंसाबाट सुरक्षित राख्न संयुक्त वक्तव्य जारी भएको छ । तदापि गरिबी, भोकमरी र उपचारको अभावमा हुने आत्महत्यामा सरकारकै जवाफदेहिता भएकोले विचलित जीवनहरूको रक्षाका खातिर आर्थिक राहत, उपचारको सुविधा र सुरक्षाको प्रत्याभूति गर्नुका साथै यथेष्ठ बजेटको विनियोजनद्वारा मानसिक समस्यालाई राष्ट्रिय स्वास्थ्य नीतिको मूल प्रवाहमा समेटन ढिलो गर्नु हुँदैन ।

आत्महत्या रोकथाममा परिवारजन, आफन्त, इष्ट–मित्र, साथीभाई, छरछिमेकीजस्ता आत्मीयजनहरूको सहयोग, सुरक्षा र आड–भरोसाको अत्यन्तै ठूलो महत्व छ । तनाव व्यवस्थापनमा आत्मीयजनकै निरन्तर सम्र्पक, संवाद र सामीप्यताको अर्थ अथाह छ । शारीरिक अनुशासनका खातिर मद्यपान र लागूऔषधलाई निषेध गरी व्यायाम, खेलकुद, मनोरञ्जन, गीत–गजल, सन्तुलित भोजन, पर्याप्त निद्रा र सिर्जनात्मक व्यस्तताको खाँचो छ । मानसिक शान्तिका लागि ध्यान, योग, सत्सङ्ग र आध्यात्मिक चिन्तनको आवश्यकता छ । कुनै पनि (अ)सफलताले सम्पूर्ण जीवनको मापन नहुने सत्यतालाई मनन गरी दुःखभित्र सुखको भावानुभूति अनुभव गराउन अपरिहार्य छ । प्रत्येक समस्याको समाधान सम्भव भएकोले पूर्ण आत्मविश्वासका साथ अथक प्रयासद्वारा आत्मबल बढाउने सहकार्य गर्न जरुरी छ । गम्भीर अर्थको ‘बाँच्न मन नलागेको’ वाक्यांशलाई सावधानीपूर्वक लिई ‘न धुँदा जाने न रुुँदा जाने’ अक्षम्य घटना घट्नु पूर्व नै आत्मीयजनको अत्यधिक सर्तकता मात्रैले सम्भावित खतरा टाल्न सकिन्छ ।

आत्महत्याको जोखिमयुक्तवर्ग सधैँ एक्लो महसुस गर्ने, संकुचित मानसिकता बोक्ने, स्थिर मनोभावमा रहने, कसैको संगत नगर्ने, कसैसँग कुरा नगर्ने, कसैको अगाडी नपर्ने वा कसैको कुरा नसुन्ने प्रवृत्तिको हुन्छ । त्यस्तो पीडितवर्गको अन्र्तवेदना एकचोटी मात्र बकाउन सके पनि आधा उपचार सम्भव हुन्छ । त्यस्तो सम्वाद सुरु भएमा उक्त सम्वादलाई नै आधार बनाएर धेरै कुरा सुन्ने वा भन्ने परिस्थिति बन्छ । यदि जोखिमयुक्तले कसैसँग कुरा गर्नै चाहदैन भने आत्मीयजनले विपत्स्यानाको सिद्धान्त अनुसरण गर्दै बोट–विरुवा, पात–पतिङ्गर, पशु–पक्षी वा प्रकृतिसँग कुरा गर्ने वातावरण बनाउन जरुरी छ, जसले धेरै मात्रामा आत्मिक पीडा हटाउन मद्दत गर्नेछ ।

मनभित्रको अन्तरद्वण्द्वको वास्तविक शत्रु भनेकै ‘कसैको कुरा नसुन्ने वा सुन्न नचाहने’ र ‘कसैलाई कुरा नभन्ने वा भन्न नचाहने’ नराम्रो बानी भएकोले ‘कुरा सुन्ने कला’ को अत्यधिक महत्व छ । केही संस्थाहरूले मानसिक समस्याग्रस्तहरूका लागि प्रत्यक्ष भेटघाट, फोन सम्र्पक र अनेकन माध्यमद्वारा सहयोग गरे तापनि हाल व्यक्तिगत, भौतिक र सामाजिक दूरीको बाध्यताले धेरैको मन–मस्तिष्कभित्र गुम्सिएर रहेका कुराहरू भन्ने, सुन्ने वा सुनाउने वातावरण छैन । यसर्थ आत्मीयजनसँग भावनाको साटासाट गरेमा मात्र पनि मन हलुका भई छटपटी घट्ने र तनाव कम भई पीडा हट्ने भएकोले जोखिमयुक्तको कुरा आपत्ति नजनाई, हतार नगरेर, धैर्य एवं ध्यानपूर्वक सुुन्दै समस्याको समाधान गर्नुपर्दछ ।

बालकृष्ण समको प्रख्यात नाटक ‘प्रेमपिण्ड’ मा प्रद्युम्न भन्छः ‘‘सुन्नोस् अब, सुनिदिनोस् ! संसारमा सुनदिने मानिस पाउन सजिलो छ, सुनिदिने मानिस पाउन गाह्रो, साह्रै गाह्रो ! बाटोमा माग्ने दुःखीको कुरा बुद्धले सुनेजस्तै को सुन्छ, हामी त बरु एक–दुई पैसा वा रुपैयाँ दिएर पनि पक्षीजस्तैै पन्छेर भाग्छौ, त्यसको इतिहास को सुिनदिन्छ ? आँखा झिमझिम गर्छ त्यसैले त्यो देख्न सक्छ, कान झिमझिम गर्दैन, त्यसैले होला त्यो कम देख्छ–हृदयको पुकार देख्नुपर्ने कानैले हो, कानद्वारा हृदयले ।’’

‘आत्महत्या रोक्नका लागि हाम्रो सहकार्य’ नामक यस वर्षको नारालाई सफल बनाउन गौतम बुद्धद्वारा प्रतिपादित ‘कुरा सुन्ने प्रणाली’ को आत्मसात् गर्दा ‘कुरा सुनौं‘ र ‘कुरा सुनाऔं’ भन्ने तथ्य थप सान्र्दभिक हुनेछ । ‘कुरा सुनौं, कुरा सुनाऔं’ को प्रारम्भले घर–परिवार, समाज र राष्ट्रमा जिम्मेवार श्रोताजन उत्पादन गरी अमूल्य जीवनहरूको रक्षा गर्न समाजमा थप प्रेरणा, हौसला र उर्जा प्रदान हुनेछ । यसर्थ व्यक्तिगत, पारिवारिक र सामाजिक ‘कुरा सुन्ने कान’ हात्तीको जत्रै ठूलो बनाएमा धेरैको पीर, व्यथा र बह सुनिदिने तथ्य प्रासङ्गिक भई युद्धरप्mतारमा बढ्दै गएको आत्महत्याको दरलाई रोक्न सकिन्छ ।

(अधिकारी सामाजिक अभियन्ता हुन्)

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार