सप्तरी, राजविराज । कोरोनाको जोखिम व्यवस्थापनमा खटिएका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिकै पदाधिकारीसहित १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौं जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदीबन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । १ सय २५ जना राख्ने क्षमता भएको सो कारागारमा हाल ३ सय ३३ जनालाई कोचाकोच गरी राख्दा व्यवस्थापनमा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढ्दै गएको जेलर सञ्जय कुमार रामले बताए ।
उनले कारागार भित्र थप कैदीबन्दीमा समेत कोरोना संक्रमण भएको हुन सक्ने प्रवल सम्भावना रहेको बताउँदै कारागार भित्र पिसिआर परिक्षणलाई तीब्र बनाउन जिल्ला स्वास्थ्य कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पताललाई पटक–पटक अनुरोध तथा पत्राचार गरिरहेको जानकारी पनि दिए । जिल्लामा हालसम्म कोरोनाबाट आठ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।