जुम्ला । जुम्लामा एक सातादेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थित बाबिरा मन्दिरमा आफ्नो १९ औं अनसन सुरु गरेका डा. केसीले उपचार गर्न नमान्दा स्वास्थ्यमा समस्या थपिँदै गएको छ ।
डा. केसीलाई अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा रखिएको छ । अनशनरत डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकको सुझावको आधारमा प्रहरीले गएराति १०ः४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा राखिएको हो ।
‘प्रतिष्ठानमा सारिएपनि डा.केसीले कुनै प्रकारको स्वास्थ्य जाँच गर्न मान्नुभएको छैन । माग पुरा गर्नुको साटो अपहरण शैलीमा उठाएर अस्पताल पुर्याइएको भन्दै डा.केसी उपचार गर्न मञ्जुर हुनुहुन्न’, डा.केसीका सहयोगी महेन्द्र कार्कीले भने । २९ भदौदेखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।