पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
विगतमा कोरोनाको ‘हट स्पट’ मानिएका स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँमा भने हाल सक्रिय संक्रमित संख्या घट्दो छ । स्याङ्जामा हाल २० मात्र सक्रिय संक्रमित छन् । त्यहाँ कुल ३ सय ९८ जना संक्रमित भएका थिए ।
बागलुङमा मात्र ६५ जना सक्रिय संक्रमित छन् । त्यहाँ ३ सय ८९ जना संक्रमित पुगेका हुन् । त्यस्तै, नवलपुरमा ८ सय ६१ कुल संक्रमितमध्ये हाल २ सय ५७ सक्रिय केस छन् भने तनहुँमा ४ सय ३३ संक्रमितमध्ये ९२ मात्र सक्रिय केस छन् ।
लमजुङमा ६२, गोरखामा ४९, पर्वतमा ९, मनाङमा ४ र म्याग्दीमा १ जनामात्र सक्रिय केस छन् । मुस्ताङमा संक्रमित शून्य छ । गण्डकीमा हालसम्म ३३ जना संक्रमितको मृत्यु भएको छ ।






