काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ४४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पिसीआर गरिएको छ ।
काठमाडौँ उपत्यकामा आज १५३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललिपुरमा २५० जना रहेका छन् ।
हालसम्म ६५ हजार २०२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार १३३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २३ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ३३ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।






