काठमाडौं । सरकारले नेपाल प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास गरेको छ । गृह मन्त्रालयले गत साउन मसान्तमा तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गरी पठाएको प्रहरी समायोजन प्रतिवेदन तीन महिनादेखि मन्त्रिपरिषद्मै अड्किँदै आएकोमा गत सोमबार पास गरिएको हो ।
ओएनएम पास भएसँगै अब प्रदेशमा प्रहरीलाई समायोजन गर्न बाटो खुलेको छ । योसँगै ‘कुन प्रदेशमा कति प्रहरी दरबन्दी रहने र कुन शाखामा कसको नेतृत्व रहने ?’भन्नेसमेत प्रष्ट भएको छ । पारित ओएनएममा उपत्यका सुरक्षा नेतृत्व एआईजीलाई तोकिएको छ । उनको नेतृत्वमा रहने ‘उपत्यका प्रहरी कार्यालय’ले तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा हेर्ने छ । महानगरीय प्रहरी कर्यालयको नाम अब ‘उपत्यका प्रहरी कार्यालय’ रहनेछ ।
गृह मन्त्रालय प्रशासन शाखा सहसचिव थानेश्वर गौतमका अनुसार प्रहरी समायोजनसम्बन्धी ओएनएम पास भएसँगै प्रहरी समायोजन र रिक्त दरबन्दी पूर्ति प्रक्रिया अघि बढ्ने छ । ओएनएम पास भएसँगै ‘कुन प्रदेशमा कति प्रहरी दरबन्दी रहने संख्यासहित प्रष्ट भएको र कुन–कुन शाखा रहनेसमेत तय भएको छ ।
‘प्रहरी समायोजनको बाटो खुल्यो, अब काम अघि बढ्छ, कुन प्रदेशमा कति संख्यामा प्रहरी रहने र कुन–कुन शाखा रहने भन्ने प्रष्ट भएको छ,’ गृह मन्त्रालयका प्रशासन शाखा सहसचिव गौतमले राजधानीसँग भने ।
गृहले गत साउनमा पठाएको प्रहरी समायोजन प्रस्ताव खाकामा ज्येष्ठता, गृह जिल्ला, इच्छुक संख्या र एक वर्षभन्दा बढी सो प्रदेशमा काम गरेकोसहित ६ आधारमा समायोजन हुने उल्लेख छ । गृह उच्च स्रोतका अनुसार समायोजनमा जाँदा सबैभन्दा धेरै प्रहरी प्रदेश १ मा र सबैभन्दा कम संख्या कर्णालीमा रहने प्रस्ताव थियो ।
त्यस्तै, केन्द्रमा २४ हजार ४ सय दरबन्दी रहने गृहले पठाएको प्रस्तावमा उल्लेख छ । प्रदेश १ र कर्णाली प्रदेशमा भने समायोजन हुँदा हाल रहेका दरबन्दीसमेत कटौती हुने छन् । हाल, नेपाल प्रहरीको कूल दरबन्दी ७९ हजार ५ सय ४२ छ ।
एक एआईजी र पाँच डीआईजी थप
त्यस्तै, सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दीसमेत थप गरेको छ ।
गृृह मन्त्रालयले पाँच डीआईजी दरबन्दी थप्नुपर्ने रायसहितको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एक एआईजीको दरबन्दीसमेत थप गरेर गृहको प्रस्ताव स्वीकृत गरेको हो । थप गरिएको दरबन्दी संघीय प्रहरी कार्यालय नेतृत्वमा रहनेछ ।
हाल, नेपाल प्रहरीमा एक प्राविधिक तर्फकासहित चार एआईजी छन् । एक दरबन्दी थपसँगै अब एआईजी संख्या ५ पुग्ने भएको छ । अहिले एआईजी बढुवा प्रतिस्पर्धाका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् । उनीहरूमध्ये बढुवाका लागि सबैभन्दा सिनियर डीआईजी पोखरेल हुन् । उनले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए । तर, अन्तिम समय सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचका निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो । त्यसअघि हरि पाल पनि एआईजीमा बढुवा भएका थिए ।
त्यस्तै, यसअघि प्राविधिकबाहेक २६ जनाको दरबन्दी रहेको डीआईजी दरबन्दी कटौती गरेर सरकारले १४ मा झारेको थियो । त्यसबखत प्रहरी र गृह नेतृत्वबीच जुहारी नै चलेको थियो । अब थप हुनेसहित नेपाल प्रहरीमा पाँच एआईजी र १९ डीआईजी हुनेछन् । यसबाहेक नेपाल प्रहरीमा ८ प्राविधिक तर्फका डीआईजी छन् ।
शाही र कार्की एआईजीमा बढुवा भएदेखि नै नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त रहँदै आएको छ । अब थप भएका सहित एकैपटक एसएसपीबाट आठ डीआईजीमा बढुवा हुने भएका छन् । डीआईजी बढुवाका लागि आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिस्पर्धामा छन ।
यसैगरी, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मसउद आलम खाँ पनि बढुवाको आकांक्षी छन् ।