काठमाडौं । बुधबार बेलुका बरिष्ट संगीतकार शम्भुजीत बासकोटा कलाकारहरुलाई एउटा भिडियोको लागि निर्देशन गर्दै थिए । काठमाडौंको लाजिमपाट स्थित सम्पदा गार्डेन रिसोर्टमा एउटा गीतको भिडियो छायाँकन हुँदै थियो । चुपचाप बस तिमी…गीतलाई छायाँकार हरि हुमागाईंले दृष्यमा उतार्दै थिए । छायाँकार हुमागाईं र विभिन्न कलाकारलाई बासकोटाले विभिन्न निर्देशन दिईरहेका थिए ।
साँढे तीन दशक अघि बिआर सँगमले गाएको यो गीतलाई यसपटक सत्यराज आचार्यले गाएका छन् । यो गीतलाई बरिष्ट संगीतकार बासकोटा आफैंले संगीत गरेका हुन् । बालकृष्ण सजिबले लेखेको यो गीत त्यतिबेला निकै हिट भएका कारण यसलाई पुन सत्यराज आचार्यको स्वरमा रेकर्ड गर्राएर अहिले आफ्नो निर्देशनमा भिडियो बनाएको पनि उनले बताए ।
यो गीतको भिडियोमा बुधबार अभिनेत्री करिश्मा मानन्धर, अभिनेता कृष्ण मल्ल, गायक सत्यराज आचार्य, गायिका तथा मोडल सरिता भारती लगायत थिए । यी कलाकारहरुलाई बरिष्ट संगीतकार बासकोटाले भिडियोमा निर्देशन गर्दै थिए ।
बासकोटाको परिचय संगीत सृजना हो । तर उनको अर्को परिचय म्युजिक भिडियो निर्देशक पनि हो । २०४३ साल तिर पहिलो पटक शम्भुजीत बासकोटाले भुवन केसीको स्वरमा रहेको गीत मायाँलु तिमी सहित विभिन्न कलाकारका आधा दर्जन गीतको भिडियो बनाएका थिए । त्यो अघिसम्म चलचित्रको गीतबाहेक म्युजिक भिडियो बनाउने प्रचलन थिएन । आफुले नै पहिलो पटक स्टुडियोमा र स्टुडियोबाहिर (आउटडोर) म्युजिक भिडियो निर्देशन गरेको उनले बताए ।
‘त्यतिबेलाबाट मैले म्युजिक भिडियोको निर्देशन नेपालमा पहिलो पटक सुरु गरेको हुँ । त्यो कार्यलाई अहिलेसम्म पनि निरन्तरता दिएको छु ।’ उनले भने,‘शान्ति तिमी फर्कि आउलगायत मलाई मन परेका कैयौं गीतहरुको म्युजिक भिडियो मैले आफ्नै निर्देशनमा बनाउँदै आएको छु र यसलाई निरन्तरता दिनेछु ।’
आफ्नो शब्द संगीत तथा स्वरमा तयार भएका गीतहरुलाई कसरी म्युजिक भिडियोमा उतार्ने भन्ने कुरा गीत लेख्ने क्रममै फुर्ने गरेको पनि बासकोटाले बताए । आफुले संगीत गरेका गीतहरुलाई यसरी भिडियोमा उतार्छु भन्ने दृष्य सँगीत सृजनाकै क्रममा दिमागमा आउने गरेको पनि उनले बताए ।