सप्तरी, राजविराज । भारततर्फ डिजल निकासी गर्ने क्रममा पक्राउ परेकालाई रिहाईको माग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा स्थानियले आइतबार दिउँसो प्रदर्शन गरेका छन् ।
डिजल बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा आइतबारै बिहान प्रहरीले दशगज्जा क्षेत्रबाट सोही गाउँपालिका निवासी सुरेन्द्र यादव, अरबिन्द मण्डल र लालबाबु मण्डललाई पक्राउ गरेपछि प्रहरीले ज्यादती गरेको भन्दै स्थानिय बिरोध प्रर्दशनमा उत्रेका हुन् ।
प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय छिन्नमस्ता अगाडी करिब दुई घण्टा बिरोध प्रदर्शन गर्दै पक्राउ परेकाहरुलाई रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
दुई वटा मोटरसाइकल र एउटा साइकलमा लोड गरि २ सय ५० लिटर डिजल लिएर भारतर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
भारती बजारमा महँगोमा बिक्रि हुने भएकाले नेपालबाट खरिद गरि डिजल भारतीय बजारमा बिक्रि हुने गरेको प्रहरीको भनाई छ । डिएसपी साहले भने, ‘जनदबाबमा आएर कुनै पनि हालतमा गैरकानुनी काम गर्नेलाई छाडिन्न, कानुन अनुसार कारवाही हुन्छ ।’






