रुघाखोकी र भाइरल ज्वरोले गाउँ नै प्रभावित

बाजुरा। जिल्लाको पूर्वी क्षेत्रस्थित हिमाली गाउँपालिका–६ बोल्डिक गाउँ नै रुघाखोकी र भाइरल ज्वरोले प्रभावित भएको छ । विगत एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले गाउँका २ सय १५ जना एकैसाथ बिरामी परेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ९० परिवार बसोवास रहेको सो गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ । एन्जल इंग्लिस बोर्डिङ स्कुलमा अध्यनरत सबै विद्यार्थी बिरामी परेपछि पाँच दिनका लागि पठनपाठन बन्द भएको छ । धुलाचौरमा रहेको भवानी माध्यमिक विद्यालयमा समेत नियमित पठनपाठन हुन नसकेको शिक्षिका देवु मल्लले बताइन् । उनले भनिन्, ‘हरेक घरमा बालबालिका बिरामी छन्, पढ्न आउन सकिरहेका छैनन् । भोलिबाट केही पहल नभए एक साताका लागि विद्यालय बन्द गर्ने तयारीमा छौं ।’ शिक्षिका मल्लले गाउँका सबै बालबालिका बिरामी भए पनि अहिलेसम्म उनीहरूको कुनै उपचार हुन नसकेको बताइन् । बालबालिकासहित स्थानीय बिरामी पर्न थालेपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भइरहेको धुलाचौर स्वास्थ्य चौकीले जनाएको छ । तीन दिनदेखि गाउँमा दुई जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बिरामीको संख्या बढेपछि थप दुई जना स्वास्थ्यकर्मी भाइरल प्रभावित क्षेत्रमा पठाएको हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक राज भण्डारीले बताए । एन्जल इंग्लिस बोर्डिङ स्कुलमा अध्यनरत बालबालिका भाइरल ज्वरो र रुघाखोकीले बिरामी भएपछि बिहीबारदेखि विद्यालय बन्द गरेको हो । उनीहरूमा खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । चिसोको कारण भाइरल ज्वारो र रुघाखोकी देखा परेको स्वास्थ्य संयोजक भण्डारीले बताए । ‘स्वास्थ्यकर्मीसँगै थप औषधिको व्यवस्थापन भइरहेको छ, अन्य ठाउँमा फैलिन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले भने, ‘परिवारका सबै सदस्य बिरामी परेपछि उपचारमा समस्या भएको हुँदा जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर र ल्याबसहितको टोली माग गरेका छौं, त्यो टोली आएलगत्तै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन्छ ।’ स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले भने, ‘हामीसँग डाक्टर नभएकाले जिल्ला अस्पतालसँग माग गरेका छौं, डाक्टरको व्यवस्था हुने बित्तिकै टोली प्रभावित क्षेत्रतर्फ हिँड्छ । पहिलो दिन गाउँपालिकाका स्वास्थ्यकर्मीले नै धान्छ भनेका थियौं तर गाउँका अधिकांश व्यक्ति बिरामी पर्दा त्यो जनशक्तिले भ्याएको छैन ।’ बिरामीको थप उपचारको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको उनले जानकारी दिए । हिमाली गाउँपालिकाका प्रशासकीय अधिकृत जनकबहादुर शाहीले भने, ‘हाम्रो गाउँपालिकामा भएका स्वास्थ्यकर्मी खटाएका छौं, काठमाडौंबाट औषधिसमेत आउँदै छ । हामीले सक्ने जति प्रयास गरेका छौं ।’ चिसोका कारणले जिल्लाका अन्य ठाउँमा भाइरल ज्वरोका बिरामी बढिरहेका छन् । अन्य स्थानीय ठाउँमा पनि फाटफुट भाइरल रुघाखोकीका बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको जानकारी दिए । नेपालगन्जबाट औषधि ल्याएर प्रभावित क्षेत्रमा पठाइसकेको प्रजिअ न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 591 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर