वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट करिब २५ घण्टादेखि २ जना बालकहरु बेपत्ता भएका छन् । शनिबार बिहान करिब ११ बजे घरबाट व्याडमिन्टन खेल्न भनी निस्किएका दवै बालकहरु अहिलेसम्म फेला नपरेका हुन् ।
वेपत्ता बालकहरु दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका रहेका छन् । बेपत्ता बालकहरु मध्ये एक जना यातायात व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा शवेश गुप्ता (तेजस) र अर्का स्थानीय दीपेश शर्माको छोरा प्रनिश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कलवार राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष पनि हुन् ।
प्रहरीको सूक्ष्म अनुगमन टोलीको सहकार्यमा खोजी कार्य अगाडी बढाइएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ । अहिलेसम्म ती दुवै बालक फेला नपरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरीले बताए । दुवै बालकहरु स्थानीय गौतम मा.वि. को कक्षा ६ मा अध्ययनरत छात्रा रहेको प्रहरीले खुलासा गरेको छ ।
विद्यालयका निकै जेहेन्दार र तिक्ष्ण बच्चाहरु शनिबार घरमा नै भएकै दिन हराएको खबरले निकै तनाव बढाएको विद्यालयले पनि जनाएको छ । दुवै बाबुहरु घरबाट बिहान करिब ११ बजे तिर बाहिर निस्केका थिए । अहिलेसम्म न घर फर्केका छन् न त कहीं कुनै जानकारी वा सूचना नै आएको छ ।
‘अहिलेसम्म बेखबर र तनावमा छौं’, वेपत्ता बालक मध्ये तेजशका बुबा जगरनाथ कलवारले बताए । ‘प्रहरीमा भने शनिबार साँझ नै उजुरी दिएर दुवै बालकको खोजी कार्य भइरहेको छ’, उनले भने । कसैले देखे वा फेला पारे नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई चिन्ने महानुभाव भए जानकारी दिन पनि दुवै परिवारका सदस्यले अनुरोध गरेका छन् ।