Home Breaking News राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

0
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार रातिबाट अन्त्य भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

१७ पुसबाट सुरु भएको सो अधिवेशन १० दिन मात्र चलेर अन्त्य गरिएको छ । यस बीचमा सदनको चार वटा मात्र बैठक बसेका थिए भने सो क्रममा ७ घण्टा ५ मिनेट सभामा व्यतित भएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको यो अधिवेशनमा सरकारले सातवटा अध्यादेश पेस गरेको थियो । संसद् सचिवालयका अनुसार सातौं अधिवेशन अवधिमा सभाबाट कुनै पनि विधेयकमा छलफल नभई अधिवेशन अन्त्य भएको हो । विधेयक अधिवेशनका रूपमा रहेको अधिवेशनमा कुनै पनि विधेयकबारे छलफल नहुनुको मुख्य कारण भनेको नै प्रतिनिधिसभा विघटनको विषयमा सत्तारूढ दलका सांसदले नै विरोध गरेपछि आइतबारबाट सरकारले अधिवेशन अन्त्यको बाटो रोजेको हो ।

यस अधिवेशनमा सरकारले सातवटा अध्यादेश पेस गरेको थियो । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ राष्ट्रिय सभामा पेस गरिएको थियो । यसैगरी सरकारले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ सभामा पेस भएका थिए ।

अधिवेशन अवधिमा सभामा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा आइतबार आफ्ना धारणा राखेका थिए । त्यसैगरी सभा अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिको गठनसम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो ।

सभाले वामदेव गौतमलाई राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन ग¥यो । यसै अधिवेशन अवधिमा मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ सभासमक्ष पेस गरियो ।

दिगो विकास तथा सुशासन समितिले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६-०७७ र विधायन व्यवस्थापन समितिले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६÷०७७ सभासमक्ष पेस ग-यो । प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रिय सभाका पूर्व सदस्यत्रय दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्यद्वय ओमकारप्रसाद गौचन र वीरबहादुर लामा तथा २०६३-६४ को अन्तरिम व्यवस्थापिका–संसद्का पूर्वसदस्य कमानसिं लामाको निधन भएकामा शोक प्रस्तावहरू पारित गरिएको थियो ।

प्रधानमन्त्रीको सम्बोधन बहिष्कार
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन दाहाल–नेपाल पक्षका सांसदहरूले बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली संसद् भवन पुगेपछि दाहाल–नेपाल निकटका सांसद बाहिरिएका थिए । प्रधानमन्त्रीको सम्बोधनलाई आफूहरूले बहिष्कार गरेको दाहाल–नेपाल निकटका सांसद बेदुराम भुसालले जानकारी दिए ।

‘हामी केहीले राष्ट्रिय सभा बैठक बहिष्कार ग¥यौं, प्रधानमन्त्रीको भाषणको कुनै अर्थ छैन भनेर हामी हाजिर गरेर निस्कियौं,’ उनले भने, ‘प्रधानमन्त्रीको गाली वाणीबाहेक सम्बोधनमा केही आउने होइन त्यसैले सुनेर अर्थ पनि थिएन ।’

१० दिनमा राष्ट्रिय सभाको ४ दिन बैठक बस्यो । जसमध्ये बैठकले ७ घण्टा समय लिएको थियो । प्रधानमन्त्रीलाई लोकतन्त्रप्रति विश्वास नभएकाले छोटो समयमै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको सांसद भुसालले बताए ।
‘संसद् सुचारु भएपछि सांसदहरूले प्रश्न उठाउने भए । सांसदहरूलाई बोल्न नदिने उहाँको योजना हो,’ उनले भने, ‘उहाँले लोकतन्त्रमाथि योजनाबद्ध आक्रमण गरिरहनुभएको छ ।’

प्रधानमन्त्री ओलीले भने राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरिएकोबारे कुनै जवाफ दिएनन् । बैठकपछि बाहिरिँदा प्रधानमन्त्रीसँग पत्रकारले सोधेको प्रश्नको जवाफ नदिईकन उनी हात हल्लाएर हिँडे ।

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा अधिवेशन लम्ब्याइराख्न जरुरी नभएको बताएका थिए । नेकपामा आएको विभाजनसँगै राष्ट्रिय सभामा ओली सरकारले बहुमत गुमाएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । जसमध्ये २४ जना दाहाल–नेपाल पक्षमा छन् भने सांसद वामदेव गौतम खुलेका छैनन् ।