काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा तारा देवी स्मृति फाउन्डेसनले यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा अजर अमर गीत संगीतलाई जीवन्त राख्न तारा देवीका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिनेछ ।
कार्यक्रममा लामो समय गीत गाएर भर्खरै मात्र गिनिज बुकमा नाम लेखाएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको विशेष प्रस्तुति हुनेछ । यस्तै, अग्रज गायिका ज्ञानु राणादेखि प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एन्जेला श्रेष्ठ, सुजाता बर्मालगायतले तारादेवीको गीत गाउने फाउन्डेसनका अध्यक्ष तथा काठमाडौं महानगरपालिका–३ का अध्यक्ष दीपक केसीले बिहीबार सञ्चारकर्मीलाई जानकारी दिए । पत्रकार भेटघाटमा तारादेवीका गीतसँग जोडिएका विभिन्न सर्जकहरूलाई हरेक वर्ष सम्मान गर्दैै आएको पनि उनले जानकारी दिए ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मानको सबैभन्दा ठूलो क्षेत्र नै सांगीतिक क्षेत्र भएको बताउँदै स्रष्टाहरूले विश्वमा नेपाललाई चिनाइरहेको बताए । उनले रोयल्टीको सिस्टमलाई व्यवस्थित गर्नु नै स्रष्टाहरूको ठूलो सम्मान भएको बताए ।
सम्झनामा तारादेवी कार्यक्रममा यस वर्ष रचनाकार भैरवनाथ रिमाल कदम, संगीतकार गणेश परियार तथा गायिका ज्ञानु राणालाई नगद र ताम्रपत्रसहित सम्मान गरिनेछ । काठमाडौं महानगरपालिकाको सहकार्यमा राष्ट्रिय सभागृहमा यो कार्यक्रममा शुक्रबार गरिनेछ ।