बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् ।
हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविसपाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति पक्राउ गरेको थियो भने ज्ञानवहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकास अयडी र केदार अयडीलाई थलारा गाउँपालिका वडा नं ३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । हत्यामा संलग्न रहेको आसंकामा रहेका सबै पक्राउ परिसकेको बताउँदै खड्काले थप अनुसन्धान भैरहेको छिट्टै यथार्थ पत्ता लाग्ने जानकारी दिए ।
यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा नेविसंघले प्रर्दशन गरिएको छ । नेविसंघले नाराजुलुस गर्दै लामो तथा छोटो दुरीस्मा चल्ने सवारीका साधन तथा बजार समेत बन्द गराएका छन् । उनीहरुले जिल्ला प्रशाशन कार्यालयको मुल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनु पर्ने माग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रसका पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिंहले राजनितिक आवरणमा भएको हत्याको घटनामा संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गरेका थिए । ‘शत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्ने बताउँदै सिंहले यसमा आफुहरुले निरन्तर खवरदारी गर्ने बताए ।
मंगलबार दिउँसो छविस पाथीभेरा गाउँपालिकामा रहेको बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा काँग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरुले सिंह माथी साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो । उनको शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।






