आवश्यकभन्दा २५ लाख बढी पुस्तक छपाइ

काठमाडौं । सरकारले हचुवाको आधारमा विद्यार्थीको तथ्यांक पठाउँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आवश्यकभन्दा निकै बढी पाठ्यपुस्तक छाप्नुपर्ने बाध्यता छ । जसका कारण केन्द्रलाई बर्सेनि करोड रुपैयाँभन्दा बढी ब्याज भार पर्ने गरेको छ । सरकारले आवश्यकभन्दा बढी विद्यार्थीको तथ्यांक पठाउँदा सोहीअनुसार पाठ्यक्रम छाप्नुपर्ने र बर्सेनि २५ लाख थान पुस्तक स्टक रहने अवस्था आउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । पाठ्यक्रम परिवर्तन भएको खण्डमा स्टक रहेका करोडांै मूल्यका पुस्तक कवाडीको मूल्यमा बेच्नुपर्दा सरकारले घाटासमेत बेहोर्नुपरिरहेको केन्द्रका अधिकारीले बताएका छन् ।

केन्द्रका अनुसार प्रत्येक शैक्षिक सत्रमा २५ लाख थान पाठ्यपुस्तक मौज्दातका रूपमा रहने गरेको पाइएको छ । शिक्षा मन्त्रालयले विद्यार्थीको आधिकारिक तथ्यांक नदिँदा पाठ्यपुस्तकहरू जनक शिक्षामा स्टकका रूपमा रहने गरेका हुन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शिक्षा मन्त्रालयको तथ्याकंका आधारमा पाठ्यपुस्तक छपाइको काम गर्छ । जसका कारण जनक शिक्षाले बर्सेनि १२ करोड रुपैयाँ बैंकसँग लिएको ऋणको ब्याज तिर्न परिरहेको छ ।

गत वर्ष २ करोड थान पाठ्यपुस्तक प्रकाशन गरिएको थियो । त्यसमध्ये १ करोड ६७ लाख थान मात्रै बिक्री भएको जनक शिक्षाले जनाएको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले आवश्यकभन्दा बढी पाठ्यपुस्तकहरू छापिँदा स्टकमा रही झन्डै १२ करोड रुपैयाँ बर्सेनि ब्याज तिर्नुपरेको बताए ।

पाठ्यपुस्तक परिवर्तन हुँदा र पुस्तक रंगीन रूपमा आउँदा ती पाठ्यपुस्तकहरू बिक्री हुँदैनन् । कोर्स परिवर्तन हुँदा पाठ्यपुस्तक मौज्दातका रूपमा रहने गर्छ । त्यसरी मौज्दात रहेको पुस्तक कवाडीको भाउमा दिनुपर्ने बाध्यता छ । हाल कक्षा १ को पाठ्यक्रम परिवर्तन भएको छ । प्रवक्ता आचार्यले भने, ‘करोडको सामग्री छ भने लाखमा बिक्री गर्नुपर्ने हुन्छ । बर्सेनि २५ लाख थानसम्म पाठ्यपुस्तक स्टक रहन्छ, लगानी खेर जान्छ ।’

आगामी शैक्षिकसत्रदेखि पढाइ हुने कक्षा १ को पाठ्यपुस्तकको आकार परिवर्तन भएको छ । गत वर्ष बिक्रीको आधारमा कक्षा २, ३ र ४ को पाठ्यपुस्तक छाप्ने काम भएको थियो । गत वर्ष २ करोड थान पाठ्यपुस्तक छापे पनि एक करोड ६७ लाख मात्रै बिक्री भएको थियो । यसरी हेर्दा ३० लाख थान बढी पुस्तक मौज्दातको रूपमा रहेको देखिन्छ ।

४० लाख थान पुस्तक छाप्न बाँकी
अझै विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ४० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । शैक्षिक सत्र सुरु हुनुअगावै २ करोड १० लाख पाठ्यपुस्तक छपाइ गर्नुपर्छ । कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक कलर गर्नेगरी सरकारले निर्णय गरेको र सीआरसी प्रिन्टिङ प्रेस माघमा प्राप्त भएकाले पाठ्यपुस्तक छपाइको काम ढिलो गरी सुरु भएको जनक शिक्षाले जनाएको छ । हालसम्म १ करोड ४० लाख थान पाठ्यपुस्तक छापिएको छ ।
हालसम्म कक्षा ९ र १० को मात्रै पाठ्यपुस्तक छाप्ने काम सकिएको छ । कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने क्रम जारी छ । कक्षा ६, ७ र ८ को ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनक शिक्षा सामग्री लिमिटेडका प्रवक्ता आचार्यले बताए । हाल दैनिक १ लाख २० हजार थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । जनक शिक्षाले १५ वैशाखसम्म पाठ्यपुस्तक सबै विद्यार्थीको हातहातमा पुग्ने दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

५ बैशाख २०८३