सप्तरी, राजविराज । यहाँका मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । कारण बनेको छ नजिकिदै गरेको सरस्वती पुजा । सरस्वती पुजा आउन अब ५ दिन मात्र बाँकी छ ।
मुर्तिको अर्डर बढन थालेपछि ग्रामिण र सहरी क्षेत्रका दजर्नौ मुर्तिकार अहिले माटाका सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन व्यस्त भएका छन । यस्तै मुर्तिहरु बिक्री गरेर कोही व्यक्तिले वर्षभरिको गर्जो टार्ने गरेका छन ।
राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म यसपालीका लागि ४९ वटा मात्र मुर्ति बनाए । अर्डर दिनहु जसो आउने गरेको छ । उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रंगको संयोजन गरेर मुर्ति बनाउछन ।
मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका छन उनले । ‘सबै अर्डरको हो’, उनले भने, ‘तर अर्डर आए जति बनाउन सकिएको छैन ।’
विष्णुपर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले पनि अर्डर धेरै आएको तर चिसोले गर्दा चाहे जति बनाउन नसकेको जानकारी दिए ।
मुर्तिकला प्रति युवाहरुको आर्कषण घटदै गएकोले पनि समस्या भएको उनको भनाइ छ । प्रति ट्रयाक्टर एक हजारका दरले माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस पल्ट मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाको भनाई छ ।
बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ । यस पूजाको तयारीका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुटेका छन् । यस पल्ट सरस्वती पूजा आगामी मंगलबारका दिन परेको छ ।