यांगुन । म्यानमार सेनाको क्रुर दमनमा परि शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । बीबीसीका अनुसार लोकतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शनमा उत्रदै आएको सैन्य ‘कु’ विरोधी शान्तिपूर्ण प्रदर्शनमा सेनाले गोली चलाउँदा एकै दिनमा ९० भन्दा बढी प्रदर्शनकारी मारिएका हुन् । सीएनएनले यसलाई सत्ता विप्लवपछिको सबैभन्दा रक्तपातपूर्ण घटना भनी टिप्पणी गरेको छ ।
यस्तो नरसंहार म्यानमारको सैनिक दिवसकै दिन भएको हो । म्यानमारका सेनाप्रमुख जनरल मिङ आन हाइङले भने राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् । उनले त्यसो भनिरहँदा प्रदर्शनमा उत्रिएका निर्दोषमाथि सेनाले अन्धाधुन्द गोली प्रहार गर्दै कैयौंको ज्यान लिएको हो ।
राज्य नियन्त्रित टेलिभिजनले सैन्य दिवसका दिन प्रदर्शनमा उत्रनेहरूको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । यस्तो चेतावनीको बाबजुद पनि सर्वसाधारण नागरिकहरू यांगुन, मान्डले र अन्य प्रमुख सहरमा सैन्य ‘कु’विरुद्ध प्रदर्शनमा उत्रिएका थिए । सोही प्रदर्शनमाथि नै क्रुर हमला भएको थियो ।
म्यानमारको नाउ न्युज पोर्टलले पनि सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जसअनुसार मान्डलेमा पाँच वषीर्य बालकसहित २९ जनाको मृत्यु भएको छ । यांगुनमा मात्रै २४ जना मारिएका छन् । अन्य विभिन्न ठाउँमा पनि दर्जनौं नागरिक मारिएका छन् । तर, म्यानमारका सैनिक प्रवक्ताले भने सो हताहती’bout कुनै टिप्पणी गरेका छैनन् । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएयता भएका विभिन्न प्रदर्शनमा हालसम्म ४ सय सर्वसाधारणको ज्यान गइसकेको छ ।






